News

May 30, 2011

आदिवासी जनजातिद्वारा संविधानसभा अगाडि धर्ना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
काठमाडौं, १४ जेठ २०६८,संविधान सभामार्फत आदिवासीय हक अधिकारसहित जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान, खम्बुवान, तामसालीङ, नेवाः, मगरात, तमुवान, थरुहट, शेर्पा, हिमाली भोटलगायतका आत्मनिर्णयको अधिकार स्वशासनसहितका स्वायत्त राज्यहरूको माग गर्दै साझा मोर्चा आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आह्वान र आयोजनामा २०६८ जेठ १४ गते संविधान जारी हुनुपर्ने दिन संविधान सभाहलको अगाडि नयाँ वानेश्वर चोक काठमाडौंमा दिनभर धर्ना कार्यक्रम सम्पन्न भयो ।
संघीयता, लोकतान्त्रिक गणतन्त्र, जातीय स्वायत्तता, धर्मनिरपेक्षता, आत्मनिर्णयको अधिकार, राजनीतिक अग्राधिकार र आदिवासी जनजातिहरूको हक हितका लागि आन्दोलनरत् राजनीतिक दलहरू, राजनीतिक दलका आदिवासी जनजातिका राष्ट्रिय स्तरका भातृसंगठनहरू, महासंघहरू, विभिन्न जातीय संयुक्त मोर्चाहरू तथा आदिवासी जनजाति सभासद सभा (ककस) समेतको प्रतिनिधित्वमा बनेको आदिवासी जनजाति संयुक्त संघर्ष समितिले उक्त संविधान सभा घेराउ तथा जनप्रदर्शन र धर्ना कार्यक्रम गरेको थियो ।
२०६८ जेठ १४ गते आदिवासी जनजातिको अधिकार सुनिश्चित भएको संविधान जारी गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, धर्मनिरपेक्ष राज्य नेपालको संवैधानिक सुनिश्चितता हुनुपर्ने; जाति, भाषा र ऐतिहासिक पहिचान र पृष्ठभूमिका आधारमा राज्य पुनर्संरचना हुनुपर्ने; आईएलओ महासन्धि नं. १६९ र यूएनड्रिप कार्यान्वयन गर्नुपर्ने र सरकार र आदिवासी संघसंस्था/दलहरूबीच भएको सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेलगायतका मागहरू राखी गरिएको संविधान सभा घेराउ तथा धर्ना गर्ने आन्दोलनको कार्यक्रम गरेको संघर्ष समितिले आफ्नो अपीलमा जनाएको थियो ।
धर्ना कार्यक्रममा बोल्नुहुने अधिकांश नेताहरूले संविधान सभाको ३ वर्षको अवधिमा प्रमुख जिम्मेवारीमा रहेका दल र तिनका नेताहरूलाई संविधान निर्माण गर्ने समयलाई केवल सत्ता लिप्सा र कुर्सिको खेलमै व्यथित गरेको भन्दै अब छोटो सयमको लागि म्याद थपेरै भए पनि आदिवासी जनजातिको माग र हक अधिकारहरू सुनिश्चित भएको संविधान जारी गर्नुपर्ने र त्यसो नगरिए आदिवासीहरूले आफ्नो संविधान आफैले बनाई घोषणा र लागू गरेर आ-आफ्ना स्वशासित स्वायत्त राज्यहरू चलाउने उद्घोष गरेका थिए ।
धर्ना कार्यक्रममा दिनभर विभिन्न नाराबाजी गर्दै आदिवासी जनजाति नेतृत्वहरूबाट मन्तव्य राख्दै, आन्दोलनकारी कविता वाचन गर्दै र सबै जाति र स्वायत्त राज्यहरूबाट आ-आफ्नै जागरण गीत र नृत्यहरू प्रस्तुत गर्दै रोचकताका साथ धर्ना कार्यक्रम सम्पन्न भएको थियो ।

No comments: