News

May 10, 2011

इन्धनबापतको हवाई शुल्क वृद्धि

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २७ - यो वर्ष दोस्रोपटक हवाई इन्धनको मूल्य बढेपछि हवाई यात्रा महँगिने भएको छ । आन्तरिक आकाशमा उडान गर्ने विमान कम्पनीले भाडामा लिँदै आएको इन्धनबापतको शुल्क 'फ्युल सर्चार्ज' बढाउने निर्णय गरेपछि यात्रा महँगो भएको हो । हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय रुपैयाँ पुगेपछि आइतबार वायु सेवा सञ्चालकहरूले मूल्य बढाउने निर्णय गरेका हुन् । आयल निगमले शनिबार आन्तरिक उडानमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो । यसअघि इन्धनमा मूल्य बढ्दा भाडा नबढाइएको वायु सेवा सञ्चालक संघले जनाएको छ । 'यसपालिको समेत जोडेर २० रुपैयाँ मूल्यवृद्धि समावेश हुने गरी शुल्क बढाइएको हो,' संघका सदस्य तथा बुद्ध एयरका बजार प्रबन्धक रुपेश जोशीले भने 'बढेको शुल्क जेठ २ गतेदेखि सबै विमान कम्पनीले हवाई भाडामा जोड्ने छन् ।' हवाई इन्धन शुल्क वृद्धिपछि केही गन्तव्यमा पुग्न यात्रुले भाडादरभन्दा बढी 'फ्युल सर्चार्ज' तिर्नुपर्ने अवस्था सृजना भएको छ । विराटनगर, पोखरा र भैरहवाको भाडाभन्दा सर्चार्ज बढी छ ।
विराटनगरका लागि 'नर्मल' हवाई भाडा १ हजार ६ सय ५० छ । ४ सय ६० रुपैयाँ वृद्धिपछि हवाई इन्धन शुल्क २ हजार ३ सय १० रुपैयाँ पुगेको छ । त्यस्तै पोखरा जाने यात्रुले १ हजार ४ सय २५ रुपैयाँ हवाई भाडामा १ हजार ६ सय ८५ रुपैयाँ इन्धनबापतको शुल्क तिर्नुपर्नेछ । भैरहवाको 'नर्मल' भाडादर १
हजार ९ सय ५० रहेकामा इन्धन शुल्क २ हजार ६० रुपैयाँ छ । अन्य गन्तव्यमा पनि भाडादर र इन्धनबापतको शुल्कमा थोरै मात्र अन्तर रहेको छ । 'पहिले नै हवाई भाडा महँगो भएकाले यात्रु घटिरहेका थिए,' गुण एयरका बजार प्रबन्धक प्रज्वल थापाले भने, 'तर लिइने शुल्क नबढाउँदा सञ्चालन खर्च धान्नसमेत मुस्किल पर्ने भएकाले बाध्यताबस बढाइएको हो ।' यात्रु संख्या घट्दै गएपछि बुद्धले 'एसएमएस' योजनाअन्तर्गत २ हजार ४ सय ६० रुपैयाँमा सस्तो भाडा ल्याएको थियो । तर अब उक्त भाडादर पनि बढाइएको छ । जोशीका अनुसार योजनाअन्तर्गत रहेको सस्तो टिकटका लागि यात्रुले २ हजार ९ सय १० रुपैयाँ तिर्नुपर्नेछ । पर्वतीय उडानको इन्धन सर्चार्ज ७ सय ५० रुपैयाँले बढेको छ । अब यो उडानका लागि यात्रुले ४ हजार ४ सय ९० भाडासँगै तीन हजार ७ सय ५० रुपैयाँ इन्धन शुल्क तिर्नुपर्ने
छ । यसले गर्दा विदेशी पर्यटकका लागि नेपाल महँगो गन्तव्यसमेत बन्ने भएको छ । धनगढीका लागि लिइएको पुरानो इन्धनबापतको शुल्कमा ७ सय ७५ रुपैयाँ, नेपालगन्जका लागि ५ सय ८५, भद्रपुर ५ सय ५०, जनकपुर ३ सय, भरतपुर २ सय ६० र सिमराका लागि २ सय २५ रुपैयाँ बढाइएको संघले जनाएको छ । सरकारले इन्धनमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि भए हवाई भाडादर बढाउन सकिने व्यवस्था गरेको
छ । यस आधारमा गत मंसिर २० गते विमान कम्पनीहरूले भाडामा लिइने इन्धनबापतको शुल्क बढाएका थिए । आयल निगमले अन्तर्राष्ट्रिय विमान कम्पनीका लागि १३ प्रतिशत मूल्य बढाएको छ । उनीहरूले प्रतिकिलोलिटर १ हजार २ सय १५ अमेरिकी डलर तिर्नुपर्छ ।
इन्धन शुल्क वृद्धिपछिको हवाई भाडा
गन्तव्य इन्धन शुल्क हवाई भाडा कुल भाडा
पर्वतीय ३,७५० ४४९० ८,२४०
पोखरा १,६८५ १,४२५ ३,११०
सिमरा १,१२५ १,२५० २,३७५
भरतपुर १,३१० १,४३५ २,७४५
जनकपुर १,५०० १,६५५ ३,१५५
विराटनगर २,३१० १,६५० ३,९६०
भैरहवा २,०६० १,९५० ४,०१०
धनगढी ३,८७५ ५,१५५ ९०३०
नेपालगन्ज २,९३५ ३,६३५ ६,५७०
भद्रपुर २,७५० ३,२३५ ५,९८५

No comments: