News

May 6, 2011

एमाले र माओवादीमा झन् झगडा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २३ - प्रधानमन्त्री तथा अध्यक्ष झलनाथ खनालले पार्टी निर्णयविपरीत एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै एमाले नेताहरूले उनको कार्यशैलीप्रति आपत्ति जनाएका छन् । गृह मन्त्रालय माओवादीलाई दिएकोबारे पनि तीव्र असन्तुष्टि जनाउँदै उनीहरूले खनाल एक्लैले गरेको उक्त निर्णय पार्टीले स्विकार्न नसक्ने बताएका छन् । पोलिटब्युरो बैठकमा बिहीबार बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष खनालसँग पार्टी निर्णयविपरीत गृह मन्त्रालय माओवादीलाई सुम्पिनुको कारणबारे स्पष्टीकरण मागेका थिए । खनालले भने शान्ति र संविधानको कार्यदिशा लिएर माओवादी अघि बढेकाले शान्ति प्रक्रियाका काम पूरा हुने आधार खडा गर्न गृह माओवादीलाई दिएको बताए । उनले गठबन्धनकारी दलको आत्मसम्मानलाई समेत ख्याल गरेर अघि बढ्न खोजेको उल्लेख गर्दै शान्ति प्रक्रियाको सम्बन्धमा केही समयभित्रै परिणाम देखिने खालको प्रगति हुने दाबी गरे । तर केही सदस्यले पार्टीका निर्णयविपरीत हिँड्न खोजेको भन्दै खनालमाथि अनुशासनको प्रश्न समेत खडा गरे । एमालेको यसअघिका स्थायी समिति र केन्द्रीय समिति बैठकले शान्ति प्रक्रियाको काम अघि बढेर विश्वासिलो आधार तयार नहुन्जेल माओवादीलाई सुरक्षासम्बन्धी मन्त्रालय नदिने निर्णय गरेको थियो । खनालले माओवादीले शान्ति र संविधानको कार्यदिशा पारित गरेपछि शान्ति प्रक्रिया पूरा हुने विश्वासिलो आधार तय भएको निष्कर्ष निकाल्दै बुधबार गृह मन्त्रालय माओवादीलाई दिएका थिए ।

No comments: