News

May 8, 2011

सरुवा भएका ६५ एसपी फर्काइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख २५ - नवनियुक्त गृहमन्त्री कृष्णबहादुर महराले बुधबार शपथ लिँदै गर्दा प्रहरी मुख्यालयले ६५ जना उपरीक्षक (एसपी) को सरुवा गर्‍यो । महराले शनिबार त्यो निर्णय बदर गराइदिए । स्रोतका अनुसार सरुवा भएका ६५ मध्ये ३० भन्दा बढी त नयाँ कार्यक्षेत्रमा पुगिसकेका थिए । बिदावारी भई फूलमालासमेत लगाइसकेका उनीहरूलाई शनिबार अचानक फिर्ता बोलाइयो । उपप्रधान तथा गृहमन्त्री महराले मन्त्रालय सम्हाल्ने माओवादीको आधिकारिक सूचना सार्वजनिक भएलगत्तै प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले गृहसचिव गोविन्द कुसुमसँगको सहमतिमा बुधबार साँझ एकाएक उक्त सरुवासम्बन्धी निर्णय गरेका थिए । स्रोतका अनुसार आफूले पदबहाली गरेकै दिन आईजीपी ठकुरीले गरेको सरुवाबाट गृहमन्त्री महरा असन्तुष्ट भएका थिए । 'केही दिनअघि गरेको भए उहाँलाई केही मतलव रहँदैन थियो तर गृहमन्त्री हुने भन्ने सूचना सार्वजनिक भएपछि हतारहतार गरिएको सरुवाको निर्णयलाई उहाँले अपमान गरेको रूपमा लिनुभयो र हाललाई रोक्ने आदेश दिनुभएको हो,' गृह स्रोतले भन्यो । स्रोतका अनुसार महराले निर्देशन दिएलगत्तै महानिरीक्षकको सचिवालयले शनिबार बिहान ७ बजे देशका पाँचै क्षेत्रका प्रमुख डीआईजी र उपत्यका प्रहरीका प्रमुख महानगरीय आयुक्तलाई फोन गरी यसअघिको सरुवासम्बन्धी निर्णय अर्को आदेश नभएसम्म कार्यान्वयन नगर्न सूचित गरेको थियो । लगत्तै प्रहरी मुख्यालयले शनिबार ११ बजे ती निकायलाई फ्याक्समार्फत लिखित आदेश पठाउँदै सरुवासम्बन्धी परिपत्र हाल कार्यान्वयन नगर्न सूचित गरिएको जानकारी दिएको थियो ।
पत्रमा 'यसअघि सरुवा भएका एसपीहरूलाई अर्को आदेश नभएसम्म यथावत् काममा लगाउनु' भनिएको छ । उक्त आदेश पुगेलगत्तै पाँचै क्षेत्रका डीआईजी र आयुक्त कार्यालयले रवाना गरिसकेका अधिकृतलाई फर्केर काममा आउन निर्देशन दिएका थिए । छ महिनादेखि रोकिएको सरुवा महरा गृहमन्त्री बन्ने भएलगत्तै एकाएक गरिएको थियो । प्रहरी मुख्यालयले विभिन्न दबाबका बाबजुद अत्यन्तै जरुरी परेको स्थानमा काजमा पठाएर सरुवा रोक्दै आएको थियो । सरुवाको सूचीमा परेका अधिकांश अधिकृतले आकर्षक जिल्ला पाएका थिए भने केही चर्चित, योग्य र सक्षम अधिकृतहरूले क्षमताअनुसारको अवसर पाएका थिएनन् । प्रहरी मुख्यालयमा सरुवा, बढुवासम्बन्धी कार्य गर्ने मानव स्रोत विभागले समेत सरुवाको 'सुइँको नपाएको' घटनाप्रति प्रहरीकै अधिकांश उच्च अधिकृत रुष्ट देखिन्थे ।
स्रोतले गृहमन्त्री महराले केही दिनभित्रै प्रहरीका उच्च अधिकृत हेरफेर गर्ने संकेत दिएको बतायो । प्रहरी मुख्यालयबारे महानिरीक्षकबाट सामान्य बि्रफिङ लिएपछि हेरफेरको सम्भावना रहेको स्रोतको दाबी छ । नेपाल प्रहरीमा जिल्ला प्रमुख डीएसपी, एसपी र अञ्चल प्रमुख रहने एसएसपीको नियमित सरुवा हुन झन्डै छ महिना ढिलो भइसकेकाले पनि सम्भावना बलियो भएको हो । मन्त्री महरा निरीक्षण र बि्रफिङका लागि बुधबार प्रहरी मुख्यालय जाने कार्यक्रम छ ।

No comments: