News

May 28, 2011

जातीय प्रतिनिधित्व भएमात्र जनगणनामा सहयोग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, जेष्ठ १४ - संघीय लिम्बुवान राज्य परिषद् एकता संयोजन समितिले जातीय प्रतिनिधित्व भएमात्र राष्ट्रिय जनगणनामा सहयोग गर्ने निर्णय गरेको छ । सरकारले एकपक्षीय रुपमा गणक नियुक्त गरे अरुण पूर्वका ९ जिल्लामा जनगणना वहिष्कार गर्ने निर्णय भएको संघीय लिम्बुवान राज्य परिषद्का महासचिव पद्म अधिकारीले बताए । सरकारले जातीय आधारमा गणक नियुक्त नगर्दा यसअघिजस्तै धर्म र जातीबारे हैकमवाद लादिने खतरा रहेको भन्दै समितिले मागबारे सरकारलाई जानकारी गराएको उल्लेख गरेको छ । महासचिव अधिकारीले लिम्बुवानको उपस्थिती रहेको पूर्वका ९ जिल्लामा आफ्ना समूहलाई प्रतिनिधित्व गराउन जिल्ला–जिल्लाबाट आग्रह गरिएको कान्तिपुरलाई जानकारी दिए ।
यस्तै, मञ्च आवद्ध संघीय लिम्बुवान राज्य परिषद्ले फोटोसहितको मतदाता नामावली संकलनमा अवरोध नगर्ने भएको छ । विदेशस्थित नेपाली नागरिक गणनामा नछुटुन भनी निर्वाचन आयोगले पञ्चवर्षिय नीतिअन्तर्गत मताधिकार सुनिश्चित गर्ने सहमतीपछि यो निर्णय भएको हो । परिषद्का अध्यक्ष कुमार लिङदेनले एक विज्ञप्ती जारी गरी लामो समयदेखि अवरोध जारी रहेको मतदाता नामावली संकलन आयोगसित सहमति भएपछि सुचारु भएको जानकारी गराएका छन् । परिषद्ले अरुण पूर्वका ९ जिल्लामा मतदाता नामावली संकलनमा खटिएको टोलीलाई घेराउ गरेर अवरोध गर्दै आएको थियो । ‘अब आयोगले सुचारु रुपले काम गरे हुन्छ’ लिङदेनले विज्ञप्तीमा भनेका छन,‘ अब कुनै प्रकारको अवरोध हुने छैन ।’

No comments: