News

May 24, 2011

कांग्रेस पनि संविधानसभाको म्याद थपको मनस्थितिमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ १० - प्रमुख विपक्षी कांग्रेस पनि संविधानसभाको म्याद थपको मनःस्थितिमा देखिएको छ । मंगलबार सत्तारुढ माओवादी र एमाले नेताहरुसँगको छलफलपछि कांग्रेसले म्याद थपको मनःस्थिति देखाएको हो । साँझ राजधानीको नयाँ बानेश्वरस्थित एक होटलमा एमाले शीर्ष नेताहरुसँगको बैठकमा कांग्रेस केही लचिलोरुपमा प्रस्तुत भएको थियो । माओवादीले शान्ति प्रक्रिया कार्यान्वयनका केही शर्त पूरा गरे म्याद थप्न सकिने महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी दिए । 'माओवादीले लडाकुका हतियार सरकारलाई अबिलम्ब बुझाए म्याद थपको आधार तयार हुन्छ,' बैठकपछि सिटौलाले हुने, 'संविधानसभाको म्याद थप हुने/नहुने हात माओवादीसँग छ ।'शान्ति प्रक्रिया कार्यान्वयनका विषयमा एमाले र कांग्रेसका धारणा समान रहेको कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधिले जानकारी दिए । 'एमालेको पछिल्लो केन्द्रीय कमिटीको निर्णय र हामीले राखेको १० बुँदे प्रस्तावमा समान धारणा छ,' उनले भने, 'तीन दिनभित्र गर्न सकिने शान्ति प्रक्रियाका कार्यहरु पूरा भए म्याद थप्न सकिन्छ ।' उनले संविधानसभा भंग भए पनि अन्य शान्तिपूर्ण विकल्पहरु रहने बताए । तर कस्तो विकल्प खुलाएनन् । राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीको राजीनामा माग्दै आएको कांग्रेस एमालेको पछिल्लो निर्णयले केही उत्साहित देखिएको छ । एमालेले राष्ट्रिय सहमतिका लागि अधिकतम लचकता अपनाउँदै आवश्यक पर्दा आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारको विकल्पमा जानसमेत तयार हुने निर्णय गरेको थियो ।

No comments: