News

May 17, 2011

बाबुरामलाई पार्टी कार्यालयमै ज्यान मार्ने धम्की

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेष्ठ ३ - माओवादी मजदुर संगठनका एक कार्यकर्ताले उपाध्यक्ष बाबुराम भट्टराईलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामै ज्यान मार्ने धम्की दिएका छन् । समूहमा पेरिसडाँडा गएका हयात होटलस्थित क्यासिनो ताराका बाउन्सर एवं माओवादी होटल मजदुर इकाई समिति सदस्य जनक बर्तौलाले भट्टराईलाई 'चार/पाँच दिनभित्र सिध्याउनुपर्ने' धम्की दिएका हुन् । खुलेआम धम्की सुनेपछि पार्टी कार्यालयमा केहीबेर हल्लीखल्ली भएको थियो । लगत्तै भट्टराईले महासचिव रामबहादुर थापा र गृहमन्त्री कृष्णबहादुर महरालाई खबर गरी 'पार्टीको आवरणमा हुने आपराधिक र गुन्डागर्दी गतिविधि गर्नेलाई कारबाही' गर्नुपर्ने बताएका थिए । 'आज मलाई धम्की आयो, भोलि अध्यक्ष र अरूलाई पनि आउँछ, यो चिन्ताको विषय हो,' भट्टराईले थापा र गृहमन्त्री महरालाई घटनाबारे जानकारी गराउँदै भने, 'पार्टीको आवरणमा आपराधिक क्रियाकलाप गर्नेलाई कडा कारबाही गर्नुपर्छ ।'
अध्यक्ष पुष्पकमल दाहाल बैंककबाट फर्केलगत्तै सोमबार अपराह्न भट्टराईले घटनाबारे जानकारी गराउँदै कारबाही गर्न आग्रह गरेका थिए । 'हामी कार्यालयको कौसीमा बसिरहेका थियौं, मजदुर कार्यालयको छतबाट उपाध्यक्ष बाबुरामलाई सिध्याउने धम्की सुन्यौं,' भट्टराईका एक सहयोगीले भने । आफ्नै साथीलाई केही दिनअघि अन्नपूर्ण क्यासिनोमा कुटपिट गरेपछि प्रहरीको पक्राउमा परेका कल्पदेव राईलाई छुटाउन दबाब दिन बर्तौला एक हूलसहित पार्टी कार्यालय पुगेका थिए । बर्तौलाले पार्टी कार्यालयसँग जोडिएको अर्को भवनको छतमा उभिएर फोनमा 'एक गाडी केटाहरू ल्याउनुपर्‍यो, बाबुरामलाई चार/पाँच दिनभित्र सिध्याउनुपर्‍यो' भनेको परिसडाँडामा रहेका सुरक्षाकर्मी र कार्यकर्ताहरूले सुनेका थिए । त्यसबेला भट्टराई र प्रवक्ता दीनानाथ शर्मा विदेशी पत्रकारहरूसँग छलफल गरिरहेका थिए ।
ज्यान मार्ने धम्कीपछि भट्टराई निवास सानेपामा करिब २० जना वाईसीएल र एक भ्यान प्रहरी पुगेका थिए । उनलाई ज्यान मार्ने धम्की दिइरहेका बेला मजदुर संगठनका पूर्वअध्यक्ष सालिकराम जमकट्टेल परिसडाँडामै थिए । त्यसबेला बर्तौलालगायत विभिन्न क्यासिनोका २०/२५ जना बाउन्सर पेरिसडाँडास्थित मजदुर कार्यालयमा भेला भएका थिए । भट्टराईनिकट मजदुर नेताहरूले जमकट्टेलको निर्देशनमा धम्की दिएको आरोप लगाएका छन् । 'जमकट्टेलकै निर्देशनमा ज्यान मार्ने धम्की दिइएको हो,' भट्टराईनिकट एक मजदुर नेताले भने । केही दिनअघि जमकट्टेलका कार्यकर्ता कल्पदेव राईले भट्टराईनिकट जानुमान डंगोललाई निर्घात कुटेपछि प्रहरीले पक्राउ गरेको थियो । क्रान्तिकारी पत्रकार संघका अध्यक्ष र प्रचार राज्य समिति सचिव महेश्वर दाहालले भट्टराईलाई दिएको धम्की निन्दनीय भन्दै कारबाही गर्न माग गरेका छन् । 'उपाध्यक्ष बाबुरामलाई पार्टी कार्यालयमै ज्यान मार्ने धम्की अत्यन्तै निन्दनीय छ,' उनले भने, 'धम्की दिनेलाई कडा कारबाही गर्नुपर्छ ।'

No comments: