News

May 30, 2011

संविधान सभाको म्याद थपिएकोमा लिम्बुवान सकारात्मक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
दमक, झापा,लिम्बुवान २०६८ जेष्ठ १५,जेष्ठ १४ र १५ गतेको व्यवस्थापिका संसदले तीन महिनाको लागि संविधान सभाको समयावधि बढाएर संविधान सभालाई जोगाएकोमा सो ऐतिहासिक कदमको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले स्वागत गरेको छ । यो तीन महिनाको अवधिमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र अरुण-सप्तकोशीपूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापनाको लागि ठोस कार्य हुनेछ भन्ने अपेक्षा गरेको कुरा परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'द्वारा जेष्ठ १५ गते जारी गरिएको एक प्रेस-विज्ञप्तिमा जनाइएको छ । जेष्ठ १४ वरिपरि एकात्मकवादी पुनरुत्थानवादी राजावादी प्रतिक्रियावादीहरूले उत्पात मच्चाउन सक्ने सम्भावनालाई ख्याल गरेर मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले एक महिनाअघिदेखि नै कुनै बन्द र हड्तालको आन्दोलन नगरेको र निर्वाचन आयोगसँग पनि वार्ताबाटै निकास खोजी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र लिम्बुवानको पक्षमा वातावरण सहज गरेको सो विज्ञप्तिमा स्मरण गराइएको छ । जेष्ठ १४ गते वरिपरि संविधान सभा परिसरमा संविधान सभाको हत्याको लागि विभिन्न एकात्मक प्रतिगामी पार्टी र झुण्डहरूले विदेशीहरूको इशारामा जुनखाले मागहरू तेर्स्याए त्यसले सो लिम्बुवान राज्य परिषदलाई स्तव्ध पारेको पनि विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा थप भनिएको छ- ''नेपालको इतिहासमै अहिले जति विदेशी शक्तिहरू कहिल्यै खेलिरहेका छैनन् । एकात्मकवादी पार्टी र तिनीहरूले हुर्काएका लोभीपापी दलाल नेताहरूले गर्दा यो सबै भइरहेको छ । चाँडोभन्दा चाँडो संघीय राष्ट्रवादी राजनीतिक शक्तिहरूले एकात्मकवादी हरूलाई विस्थापित गर्न सक्नुमा नै नेपाल र नेपाली जनताको हित हुनेछ ।'' विज्ञप्तिको अन्त्यमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले सञ्चालन गर्दै आएको लोकप्रिय कार्यक्रम सीसीओ अभियानलाई पुनः सशक्त रुपमा अघि बढाएर तीन महिनापछिको जस्तोसुकै अवस्थाको सामना गर्ने तयारी गरिनेसमेत जनाइएको छ ।

No comments: