News

May 26, 2011

बाबु नखुलेकी सविनाले नागरिकता पाइन्

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोलखा, जेष्ठ १२ - कुमारी आमाबाट जन्मिएका सबै नेपालीले नागरिकता पाउने सर्वोच्वको फैसलापछि सविना दमाईले गृह जिल्लाबाट बिहीबार नागरिकता लिइन् । गत शुक्रबार सर्वोच्वले ७५ औं जिल्लाकै सिडिओहरुलाई 'बाबुको नाम सोधखोज नगरी नागरिकता दिनु' भन्ने आदेशपछि उनी र सर्वोच्वमा मुद्दा हाल्ने आमा गंगामाया नागरिकता लिन गृह जिल्ला आएकी हुन् । दोलखा लामिडाँडा- २ निवासी गंगाले आफूले जन्माएकी छोरीलाई बाबुको पहिचानबिनै नागरिकता लिन पाउँ भनी गत माघ १० गते सर्वोच्वमा मुद्दा हालेकी थिइन् । सविना र गंगाले स्वाभिमानीपूर्वक बाबु नखुलेकाहरुले सहज रुपमा नागरिकता पाउनुपर्छ भन्ने आवाज उठाएपछि मुद्दा गर्न उनीहरुलाई निशुल्क सहयोग मिलेको थियो । नेपालको संविधानले उमेर पुगेका प्रत्येक नागरिकले नागरिकता पाउने अधिकारलाई सुरक्षित गरेता पनि तत्कालिन प्रजिअ श्रीकृष्ण श्रेष्ठले बाबु नखुलेकाले नागरिकता नदिने अडान गरेपछि सर्वोच्व जानु परेको सविनाको दावी छ । उनले यहीँ साउन १४ गते सबै प्रकृया पूरा गरी नागरिकता माग गरेका थिए । घर बनाउने ज्यामी काम गरेर बसेकी गंगामायाँले छोरीको नागरिकता लिन भनेर सदरमुकाम चरिकोटमा महिनादिन जति बसिन् । चिनेजानेकालाई नागरिकता दिलाउन मद्दत मागिन् । जसै गरे पनि नागरिकता नपाउने भएपछि सविनाले अधिकारको लडाइँ सुरु गर्ने निधो गर्दै जिल्लाबाट राजधानी फर्किन । तर दोलखा प्रशासनले नेपालको संविधान र ऐन अनुसार बाबुको पहिचानविनै नागरिकता दिन खोजेको तर, सविनाले नलिएको भन्ने जवाफ सर्वोच्वलाई पठाएको थियो । काठमाडौंको निम्स कलेजमा १२ मा पढ्दै गरेकी सविनाले न्यायको खोजी गर्न थालेपछि सर्बत्र सहयोग मिल्दै गयो । अन्ततः उनीले आफूले नागरिकता लिदैं नेपालका सबै कुमारी आमाबाट जन्मिएका र जन्मने छोराछोरीले सजिलै नागरिकता लिने नजिरसमेत कायम गरिन् ।

No comments: