News

May 18, 2011

गाईको सुकुटी सप्लाई गर्ने पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपालगन्ज, वैशाख २९ - गाई काटेर सुकुटी र आलो मासु देशका विभिन्न सहरमा पठाउने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँके सोनपुरका साविर कसाई 'मुक्ति' र नेपालगन्ज-५ का मोहम्मद इशार खाँ पक्राउ परेका हुन् । साविर एकिकृत माओवादीका जिल्ला सदस्य पनि हुन् । उनीहरुले स्थानीय प्रहरीसंगको मिलेमतोमा सोनपुर-८ स्थित बर्गदी गाउँमा उद्योग खोलेर गाईको सुकुटी बनाउने र ड्राईमिट उद्योगसंग मिलेर विभिन्न सहर पुर्‍याउने गरेको स्वीकारेका छन् । 'मासु, सुकुटी र ड्राईमिट बनाएर पठाउँथ्यौ'- मुख्य अभियुक्त साविरले भने । खजुरास्थित धनौली प्रहरी चौकीलाई मासिक २० हजार 'घुस' दिएर ६ महिनादेखि उक्त अबैध उद्योग संचालन गर्दैआएको उनले बताए ।
जिल्ला प्रहरी बाँकेका नायव उपरीक्षक विनोद घिमिरेले गौबध र अबैध उद्योग संचालनमा सघाउने धनौली चौकीका १४ प्रहरीलाई झिकाएर अनुसन्धान सुरु गरेको बताए । 'दोषी इन्चार्ज र जवानलाई विभागीय कारबाही हुन्छ'-उनले भने । गत बैशाख १४ गते प्रहरीले छापा मारेर गौबधशालासहितको उक्त सुकुटी उद्योग नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक मुकुन्द रिजालको टोलीले गाईको आलो मासु, सुकुटी, गाईका टाउकाहरु र सुकुटी तयार गर्ने सामाग्रीहरु बरामद गरेको थियो । उक्त अबैध काममा संलग्न सरिफ कुरेसी, समिउल्ला कुरेसी, जमिल कसाई, कुन्ना तेली र महंगु कसाई फरार रहेको प्रहरीले जनाएको छ । अभियुक्तहरुलाई मुलुकी ऐनको चौपाया महल अन्तरगत मुद्दा चलाइएको नायव उपरीक्षक घिमिरेले बताए । उनले भने,-'एक त राष्ट्रिय जनावर, त्यसमाथि कसैको धार्मिक आस्थामाथि चोट पुर्‍याउने गैरकानूनी काम भएकाले प्रहरीले दोषी उम्किन नदिन गहिरो अनुसन्धान गरेको छ ।'

No comments: