लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ लिम्बू
याक्खालेन, लिम्बुवान २३ पुस २०६८'लिम्बुवान स्वायत्त गणराज्य र याक्खालेन स्वायत्त क्षेत्रको स्थापनाको लागि एक होऔं'' भन्ने नाराका साथ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तरता संघीय याक्खालेन स्वायत्त परिषदको ऐतिहाकिस प्रथम स्वायत्त सम्मेलनको उद्घाटनसभा २०६८ पुस २३ गते याक्खा स्वायत्त क्षेत्र तामाफोकको मुढे शनिश्चिरे बजारमा भव्यताका सम्पन्न भएको छ । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अन्तर्गत संघीय याक्खालेन स्वायत्त परिषद केन्द्रीय तदर्थ समिति याक्खालेन लिम्बुवान, नेपालको आयोजनामा सम्पन्न यस सम्मेलनको उद्घाटनसभा तदर्थ समतिका अध्यक्ष डिक लिङ्खा याक्खाको अध्यक्षता र मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन 'मिराक'को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
नेपालको संघीयवादी इतिहासमा लिम्बुवानका धिमालपछि प्रस्तावित स्वायत्त क्षेत्रमा थात्थलो भएका मुलवासी याक्खाहरुले लिम्बुवान र याक्खालेन स्वायत्त क्षेत्रको संवैधानिक सुनिश्चिताका लागि गरेको यो ऐतिहासिक कार्यक्रमको सञ्चालन समितिका महासचिवर् इश्वर याक्खा र लिम्बुवान सङ्खुवासभा जिल्ला कमिटि सदस्य शशी लिङ्थेपले गर्नुभएको थियो । उद्घाटन आमसभामा शुभकामना मन्तव्य व्यक्त गर्दै किरात याक्खा छुम्माका केन्द्रीय सदस्य रुद्रबहादुर जिमी याक्खाले हिजो इतिहासमा पनि यो याक्खालेन भूमि लिम्बुवानसँगै रहेको र अबको संघीय नेपालमा बन्ने राज्यमा पनि लिम्बुवानसँगै याक्खा स्वायत्त क्षेत्र रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यस ऐतिहासिक आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि कुमार लिङ्देन 'मिराक'ले लिम्बुवानको लडाइँ कुनै व्यक्ति वा पद परिवर्तन गर्ने, चुनाव जित्ने वा हार्ने नभई पूरै व्यवस्था नै परिवर्तन गर्ने लडाइँ भएको भन्दै लिम्बुवान अरुजस्तो ढाँटछल गर्ने सङ्गठन र आन्दोलन नभई इमान्दार, जुझारु र सशक्त सङ्गठन भएको बताउनु भयो । वहाँले थप्नु भयो- ''कुनै व्यक्ति वा सरकार परिवर्तन हुँदा पनि यहाँ याक्खा भाषाको सम्म पढाइ हुन सकेन । कसैले पनि याक्खालेनको बारेमा कुनै चिन्ता र चासो व्यक्त गरेनन् । एकात्मकवादीहरु खाली कुर्सी र पदमै लुछाचुडी गरिरहेछन् । तर हामी लिम्बुवानहरु सम्पूर्ण लिम्बुवानवासी जातजातिको उत्थान, विकास र हक अधिकारको सुनिश्चिता र समृद्ध लिम्बुवानको लागि अनवरत लागिरहेका छौं ।''
एकात्मक काठमाडौ र उसले नियुक्ती गरेको सीडीओ र प्रहरीले होइन, यहाँका जनताले चाहेको र चुनेको वा आफैले आफ्नो शासन गर्ने व्यवस्थाको लागि यसरी लडिरहेको बताउँदै प्रमुख अथिति मिराकले सोही आह्वान गर्न यस याक्खा क्षेत्रमा आएको बताउनु भयो । वहाँले ऐतिहासिक पृष्ठभूमिको आधारमा अरुण-सप्तकोशीपूर्वका नौ जिल्लालाई आत्मनिर्णयको अधिकार र याक्खा स्वायत्त क्षेत्रसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गर्न आन्दोलन गरिरहेको बताउनु भयो । त्यसैगरी, वहाँले भन्नु भयो- ''आज लिम्बुवानको सिमाना चारैतिर पूरै खुल्ला छ र सेना र प्रहरीहरु भने लिम्बुवानको मुटु मुटुमा तैनाथ गरेर राखिएको छ । यसको अर्थ र मत्वल के हो - लिम्बुवानलाई दबाउन कोसिस गरिँदैछ खबरदार !'' भन्दै कोहीलाई पनि यो हर्कत नगर्न चेतावनी दिनुभयो । साथै, आफूहरु देश टुक्र्याउने होइन यो देशलाई साँच्चिकै समृद्ध संघीय गणतान्त्रिक नेपाल बनाउने अभिलाषासहितको अभियानमा रहेको जनाउनु भयो । प्रमुख अतिथिले आश्चार्य मान्दै भन्नुभयो- ''कस्तो अनौठो कुरा गरिरहेछन् आज यी एकात्मकवादीहरु - मधेश राज्य हुने र तर लिम्बुवान नहुने रे ! इनकेस मधेश मात्र हुने र लिम्बुवान नहुने कुरा भयो भने त्यसको पाँच मिनेटमा के हुन्छ - त्यतिखेर थाहा हुनेछ । यो कुरा बाहिर आयो भने पाँचमिनेटमै धेरै ठूलो विध्वङसात्मक जनव्रि्रोह हुनेछ । त्यतिखेर यी सेना प्रहरीको केही केहीले केही थाम्ने छैन ।''
वहाँले फेरि भोलि हुने लिम्बुवान र याक्खा स्वायत्त क्षेत्रको प्रसङ्ग जोड्दै मुडे शनिश्चरेको अफिसमा ३ वटा झण्डाहरु फहरिने बताउनु भयो । त्यसमा एउटा नेपालको, अर्को लिम्बुवान र याक्खालेनको झण्डा फहरिने बताउनु भयो । यो भन्दा सहअस्तित्व झल्किने, सबैलाई समेट्ने उपाय अरु के हुनसक्दछ - प्रश्न गर्नुभयो । तर, लिम्बू, याक्खा र याम्फूको भोटैमात्र समेट्ने तर उनीहरुको चाहना र भावनाहरुलाई नसमेट्ने कुरा अब रतिपनि सहन नसकिने बताउनु भयो । आजको युगमा कोही खेद्ने खेदिने र दब्ने दमाउने कुरा एक्दमै असम्भव कुरा हो भन्दै अध्यक्ष मिराकले भोलिको लिम्बुवानका सबै लिम्बुवानवासीहरु लिम्बुवानको मुख्यमन्त्री हुनसक्ने बताउनु भयो । भोलिको लिम्बुवान लोकतान्त्रिक, समावेशी र समानुपातिक हुने उद्घोष गर्नुभयो ।
इतिहास कोट्याउँदै प्रमुख अतिथिले भनेँ- ''विगतमा लिम्बुवान जम्मा १६२ वर्षम्म स्वायत्त भूमि थियो । त्यसपछि १८३१ देखि २०२१ सम्म १९० वर्ष स्वायत्त थियो । यसरी लिम्बुवान ३५२ वर्षम्म एक हिसाबले संघीय स्वायत्त थियो । र, यही इतिहासको आधारमा भोलिको लिम्बुवान पनि नेपाल अर्न्तर्गत नै स्वायत्त राज्य रहनेछ । त्यसकारण हाम्रो लडाइँ साम्प्रदायिक र जातिवादी होइन । हामी त अरुणपूर्व नौ जिल्ला लिम्बुवानको राजनीतिक लडाइँ लडिरहेका छौं ।'' वहाँले देश काल परिस्थितिमा एक्दमै गम्भीर संवेदनशील मोडमा आइपुगेको बताउँदै सम्पूर्ण संघीय गणतन्त्र, धर्मरिनपेक्षता र लिम्बुवानवादी जनताहरु सजग हुने बेला आएको बताउनु भयो । ''अहिले संविधान नबनाउने एकात्मकवादीहरु, र त्यही पुराना एकात्मकवादी राजावादी शैलीको न्यायालय सर्वोच्च अदालतहरु मिलेर संविधान सभालाई भङ्ग गरी फेरि घुमाउरो तरिकाले ४७ सालको संविधान ब्यूँताउने डरलाग्दो षडयन्त्र गरिरहेका छन् । यी एकात्मकवादीहरुलाई खासमा यो नयाँ संविधान चाहिहएको छैन । किनकि उनीहरुलाई त्यही एकात्मक शासन व्यवस्था नै पुग्दो छ । उनीहरुलाई त्यही शासनमै मोजमस्ती छ । आखिर काठमाडौंमा महल बनाएका छन्, आफ्नो छोराछोरीलाई विदेशमा पढाउन पाएकै छन्'' भन्दै आक्रोश पोख्नु भयो ।
वहाँले ''खासमा यो नयाँ संविधानत यहाँका शोषित पीडित आदिवासी जनजाति, दलित उत्पीडितहरुलाई धेरै चाडै चाहिएको छ । तर एकात्मकवादीहरु त्यो हुन दिइरहेका छैनन् । हाम्रो लागि कुनै पनि जाति र व्यक्तिहरु हाम्रा शत्रू होइनन् । क्षेत्री बाहुन हाम्रा शत्रू होइनन् । हाम्रा शत्रू त काठमाडौको सिंहदरबारमा हामीलाई शोषण गरेर बस्ने एकात्मकवादी शोषकहरु हुन्'' भन्नुभयो ।
यहाँ नेपाललाई बिगार्ने ३ वटा वाद , भाइरस वा चिज छ- त्यो राजावाद, पूँजीवाद र साम्यावाद हो । जबसम्म यी राजवादी, पँुजीवादी र साम्यवादीहरुको पछाडि हिँडिरहन्छौं तबसम्म हामी भिखारी सिवाय अरु केही पनि हुनेवाला छैनौं भन्दै मिराकले यी ३ वटा विचार, दर्शन वा विचारलाई जबसम्म डिलिट वा ध्वस्त गर्दैनौं तबसम्म हामी मुक्त हुने छैनौं भन्नु भयो । ''हामी जहिलै कुनै पदमा टाँसीरहने विधिको पक्षमा छैनौं । अब हामी नै हाम्रो पार्टी पनि २ पटकभन्दा बढी अध्यक्ष हुन नपाउने प्रस्ताव ल्याउँदैछौं, म आफै त्यो प्रस्ताव ल्याउँदैछु'' मिराकले भन्नुभयो । काठमाडौंमा बस्ने केही क्षेत्री बाहुनहरुले हाम्रो हक अधिकार खोसे, हामीलाई शोषण दमन गरे । तर, त्यसो भन्दैमा हाम्रा छिमेकी बाहुन क्षेत्रीहरु जो अहिले हामीसँगै छन् उनीहरुसँग हामीले कुनै शत्रूता देखेका छैनौं । तरपनि, हामीले भोलिको लिम्बुवानमा हामीले हिजो बाहुनले पेल्यो भन्दैमा भोलि हामी बाहुनलाई त्यसरी नै पेल्ने पक्षमा छैनौं । मार्क्सवादी र कम्युनिष्टहरुले खाली पेल्ने कुरा मात्र गर्छन् तर मिल्ने कुरा गर्दैनन् । हामी त उत्पीडित जातिका नेता नेल्शन मण्डेलाको दर्शन मान्छौं । मण्डेलाको नीतिमा गोराले हिजो कालालाई पेले पनि पछि कालाले गोरालाई नपेल्ने नीति भएजस्तै हामी कसैलाई पेल्ने र कसैमाथि शोषण दमन गर्ने पक्षमा छैनौं भन्ने कुरामा अध्यक्ष मिराकले जोड दिनुभयो ।
वहाँले अहिले अष्ट्रेलिया नेपालका आदिवासीको भाषामा रेडियो प्रशासण हुन्छ, लालुहरुको देश भारतको सिक्किमा आज लिम्बूभाषा उच्चशिक्षासम्म पढाइ हुन्छ । तर नेपालमा कक्षा ५ सम्म पढ्न पढाउनको लागि पनि सरकारसँग भीख मागिरहनुपरेको छ । यो कस्तो देश हो ? यो कस्तो शासन व्यवस्था हो ? म प्रश्न गर्न चाहन्छु भन्दै एकात्मक शासकसँग प्रश्न गर्नुभयो ।
''आज सुनिदै छ- बाहुनहरु संघीयताको र लिम्बुवानको विरुद्धमा एक हुन खोजिरहेका छन् रे ! त्यसोभए अब बाहुनहरुको विरुद्धमा आदिवासी जनजातिहरु एक हुनपर्ने हो ? यसरी एक जातिको विरुद्धमा अर्को जाति एकहुन थाल्ने हो भोलि यो देशको हालत के हुन्छ ? कसैले सोचेको छ ? त्यसैले हाम्रो लडाइँ कुनै जाति, भाषा र धर्मको विरुद्धमा होइन । हाम्रो लडाइँ संघीयता, धर्मनिरपेक्षता र अरुणपूर्व ९ जिल्ला लिम्बुवानको पक्षमा हो'' किराकले भन्नुभयो । वहाँले यही माघ ११ गते लिम्बुवानको जोगवनीदेखि विजपुरसम्म लिम्बुवानको लागि मार्चपास गर्ने आन्दोलनको कार्यक्रम रहेको बताउनु भयो । सो आन्दोलन अहिङ्सात्मक र शान्तिपूर्ण रहने बताउँदै यो आन्दोलन सम्पूर्ण संघीयवादी लिम्बुवानवासीको भएकोले सबैलाई यस समाहित हुन पनि आह्वान गर्नुभयो । अन्तमा, वहाँले मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अर्न्तर्गत याक्खा स्वायत्त परिषदको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलनको पूर्ण सफलता र लिम्बुवान तथा यस अन्तर्गत याक्खा स्वायत्त क्षेत्रको स्थापनाको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा लिम्बुवानका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिवालय सदस्य दिलेन्द्र कुरुम्बाङ, सचिवालय सदस्थ तथा संघीय लिम्बुवान महिला परिषदका अध्यक्ष शान्ता योङहाङ, महासचिव अमृता थेबे, केन्द्रीय सदस्य दिलकेशर थापा क्षेत्री, संघीय विद्यार्थी युनियन लिम्बुवानका उपाध्यक्ष सेसेहाङ चोङ्बाङ, संघीय लिम्बुवान युवा मञ्चका अध्यक्ष सुनिल लिम्बू र परिषद सङ्खुवासभा जिल्लाका अध्यक्ष इन्द्र लिङ्थेपले नौवटै जिल्लाका अध्यक्षहरुको तर्फाट सम्बोधन गर्नुभएको थियो ।
आमसभामा स्थानीय मिर्मिरे युवा क्लव, तामाफोक याक्खालेनका कलाकारहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । लिम्बुवानी कलाकार खगेन्द्र यक्सोले लिम्बुवानका सशक्त गीतहरु प्रस्तुत गरी मनोरोञ्जनका साथ जागरुक गराउनु भयो भने सङ्खुवासभा आइडल प्रेम जिमी याक्खा र ताप्लिजोङका कलाकार तथा केन्द्रीय सदस्य विष्णु यक्सोले पनि साङ्गीतिक प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रममा सङ्खुवाभा जिल्लाका खाँदबारी, चैनपुर, जलजला, सिद्धकाली, सिद्धपोखरी, वाना, स्याबुन, सभापोखरी, खराङ, वानेश्वर, नुनढाकी, रामबेनी, मादीमुलखर्क, आँखीभूँइ, माम्लीङ, तामाफोक लगायतका गाउँहरुबाट नेता, कार्यकर्ता, प्रतिनिधि, पर्यवेक्षक र पतिनिधिहरुको उपस्थिति रहेको थियो । साथै, तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ, झापाबाट पनि लिम्बुवान नेतृत्व तथा कार्यकर्ताहरुको सशक्त सहभागीता रहेको रहेको थियो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद अर्न्तर्गत् याक्खालेन स्वायत्त परिषदको बन्दसत्रको सम्मेलन पुस २४ गते हुने कार्यक्रम रहेको छ ।
No comments:
Post a Comment