News

Jun 6, 2008

कोइरालालाई राष्ट्रपति नस्विकार्ने माओवादीले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माओवादीले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नस्विकार्ने भएको छ भने नेपाली कांग्रेसले कोइराला नै राष्ट्रपति बन्नुपर्ने अडान राखेको छ। माओवादी नेता तथा स्थानीय विकाश मन्त्री देव गुरुङले मुलुकको राष्ट्रपतिमा वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आफ्नो पार्टीले कुनै हालतमा नस्विकार्ने बताएका छन् । राजधानीमा जेठ २४ गते आयोजित एउटा अन्तर्क्रिया कार्यक्रम बोल्दै मन्त्री गुरुङले संवैधानिक राष्ट्रपतिका रुपमा कोइराला नसुहाउने तथा राष्ट्रपति बनाए उनी नै शक्तिसाली बन्ने भएकाले आफ्नो पार्टीले कोइरालालाई राष्ट्रपति नस्विकार्ने उल्लेख गरे । रामराजाप्रसाद सिंह वा कुनै स्वतन्त्र ब्यक्तिलाई मुलुकको राष्ट्रपति बनाउनुपर्ने पनि उनले कार्यक्रममा धारणा राखे । प्रधानमन्त्रीलाई राजीनामा दिएर मुलुकको गतिरोध अन्त्य गर्न जेठ २९ गतेसम्म समय दिइएको पनि गुरुङले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री डा. रामवरण यादवले भने शान्ति प्रक्रिया र मुलुकको परिवर्तनमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेकाले उनलाई नै राष्ट्रपति बनाउनुपर्ने अडान राखे । माओवादीको ब्यवहार अझै शंकास्पद रहेकाले माओवादीलाई राष्ट्रपति र प्रधानमन्त्री दुवै पद दिनुहुन्न भन्ने अडान आफ्नो पार्टीले राखेको पनि यादवको भनाइ थियो । नागरिक समाजलाई राष्ट्रपति बनाउने नाममा राजनीतिकर्मीलाई 'बाईपास' गर्न नहुने पनि कार्यक्रममा यादवले उल्लेख गरे । एमाले स्थायी समिति सदस्य इश्वर पोखरेलले राष्ट्रपति कसलाई बनाउनेबारे आफ्नो पार्टीले निर्णय नगरेको तथा ब्यक्तिमा अहिले केन्द्रित हुन नचाहेको बताए । नागरिक समाजकालाई राष्ट्रपति दिने माओवादी प्रस्ताव गुलियो भए पनि राजनीतिकर्मीलाई पाखा लगाउन नहुने पोखरेलको भनाइ थियो । संविधानसभामा प्रतिनिधित्व गर्ने २५ दलको साझा नीति बनाएर सरकार बनाउनुपर्ने पर्ने पनि कार्यक्रममा पोखरेलले उल्लेख गरे । कार्यक्रममा अर्का वक्ता नागरिक समाजका सुन्दरमणि दिक्षितले नागरिक समाजका कोही पनि राष्ट्रपति बन्न नजाने तथा सडकमै बसिरहने बताए । रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउनुपर्ने उनको तर्क थियो ।

No comments: