News

Jun 8, 2008

नयाँ सरकार गठनबारे ६ सदस्यीय कार्यदल गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सेना समायोजन, वाईसीएल गतिविधि नियन्त्रण, संविधान संशोधन र नयाँ सरकार गठनबारे सुझाव दिने जिम्मेवारी दिएर तीन प्रमुख दलले ६ सदस्यीय कार्यदल गठन गरेका छन् । माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेताबीच भएको बैठकले समसामयिक राजनीतिक मुद्धामा सहमतिको सुत्र बनाउन कार्यदल गठन गरेको छ । जेठ २६ गते बिहान प्रचण्ड निवास नयाँ बजारमा भएको तीन दलको बैठकले बनाएको ६ सदस्यीय कार्यदलमा माओवादीका कृष्णबहादुर महरा र खिमलाल देवकोटा, नेपाली कांग्रेसका डा. प्रकाशशरण महत र राधेश्याम अधिकारी तथा एमालेका भीम रावल र अग्नी खरेल छन् । कार्यदललाई सेना समायोजन, वाईसीएल गतिविधि नियन्त्रण, संविधान संशोधन र नयाँ सरकार गठनबारे सुझाव दिने जिम्मेवारी रहेको बैठकका सहभागि एमाले महासचिव झलनाथ खनालले जानकारी दिए । यसअघि, माओवादी, नेपाली कांग्रेस र एमालेका नेताबीच भएका छुट्टाछुट्टै बैठकमा केही सातादेखि बिबादस्पद बनेको सरकार बनाउन र हटाउन संविधानसभाको सामान्य बहुमतले गर्नसक्ने प्रावधान अन्तरिम संविधानमा राख्न माओवादी सहमत भइसकेको नेताहरुले बताएका छन् । माओवादीको नेतृत्वमा बन्ने सरकार हटाउने खेल नहुने राजनीतिक प्रतिबद्धता अन्य दलले ब्यक्त गरेपछि सामान्य बहुमतबाट सरकार बनाउन र हटाउन सक्ने प्रावधान संविधानमा राख्न माओवादीले सहमत जनाएको हो । अन्तरिम संविधानमा सरकार बनाउन र हटाउन दुई तिहाई बहुमत चाहिने प्रावधान छ ।

No comments: