लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रह्लाद जानी आध्यात्मिक जीवनशक्तिको कारण सत्तरी वर्षसम्म अन्नपानीविना बाँच्न सफल भएको दाबी गर्छन्प्रह्लाद जानीलाई भारतको गुजरातस्थित एक अस्पतालमा छुट्टै राखिएको छ । यी प्रह्लाद ७० वर्षसम्म केही नखाई बाँचेको दाबी गरिरहेका छन् । यिनको दाबी सही वा गलत भएको पत्ता लगाउन नै उनलाई अस्पतालमा एक्लै राखिएको हो । भारतीय प्रतिरक्षा अनुसन्धान संस्थाले प्रह्लादको जाँच गरिरहेको छ । प्रह्लाद अहिलेसम्म अस्पतालमा ६ दिन पानी र खानाविना बसिसकेका छन् । चिकित्सकका अनुसार उनको शरीरले अहिलेसम्म भोक वा तिर्खाको कुनै लक्षण देखाएको छैन । सात वर्षको उमेरमा घर छाडेर साधु बनेको बताउँछन्, प्रह्लाद । उनी राजस्थानमा साधु बनेर घुमे रे ! खाना र पानीविना । उनी खाना-पानीविना आध्यात्मिक जीवनशक्तिले बाँचेको बताउँछन् । एक चिकित्सक पनि प्रह्लादसँग विशेष दैवीशक्ति भएको बताउँछन् । यही दैवीशक्तिका कारण उनी खाना-पानीविना ७० वर्ष बाँच्न सफल भएको चिकित्सकको दाबी छ । तर, सबै प्रह्लादको दाबी मान्न तयार छैनन् । कतिपय त उनलाई 'गाउँका ठग' समेत भन्छन् । भारतीय प्रतिरक्षा विकास अनुसन्धान संस्थाले युद्धक विमान, मिसाइल तथा नयाँ निर्माण गर्छ । सैनिक तथा दैवीप्रकोप पीडितलाई सहयोग नआउन्जेलसम्म खाना-पानीविना लामो समय बाँच्न प्रह्लादले सहयोग गर्ने अपेक्षा संस्थाले गरेको छ । 'प्रह्लाद जानीको दाबी सही भएमा यो विज्ञानका लागि एउटा ठूलो उपलब्धि हुनेछ,' डिभेन्स इन्स्टिच्युट अफ साइकोलोजी एन्ड एलाइड साइन्सका निर्देशक डा. जी इलाभाजहागन भन्छन् । प्रह्लादको दाबी सत्य भएमा दैवीप्रकोप, सामुदि्रक यात्रा तथा अन्य कठिन अवस्थामा मानिसको जीवन बचाउन सकिने इलाभाजहागनको ठहर छ । 'युद्ध, दैवीप्रकोपजस्तो अप्ठ्यारो स्थितिमा थोरै खाना र पानीमा बाँच्ने कला मानिसलाई सिकाउन सक्छौँ,' उनी भन्छन् । तर, अहिले प्रह्लाद सबैको ध्यानको केन्द्रमा छन् । ६ दिनयता उनले खानापानी केही पनि खाएका छैनन् । पिसाब वा दिसा पनि गरेका छैनन् । उनी तन्दुरुस्त देखिन्छन् । खानापानी नखाएको केही लक्षण उनको शरीरमा देखिँदैन । चिकित्सकले उनलाई थप ५० दिनसम्म अनुसन्धानमा राख्नेछन् । भारतमा हिन्दू तथा जैनले भोकै व्रत बस्छन् । कहिलेकाहीँ व्रत आठ दिन लामोसम्म हुन्छ । अधिकांश मानिस खानाविना ५० दिन पनि जिउँदो रहँदैनन् । इतिहासमा अहिलेसम्म सबैभन्दा लामो भोकहडताल ७८ दिनको रहेको छ ।
No comments:
Post a Comment