लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मकाउ, आश्विन १७ - 'वल्र्ड क्यासिनो सिटी' उपमा पाएको मकाउस्थित चारतारे एम्पेरर होटलको सभाकक्षमा आइतबार दिउँसो गज्जबको उत्सुकता देखिन्थ्यो । रोजगारीका सिलसिलामा एक दसकअघिबाट कार्यरत नेपालीहरू देखि हालै मकाउ भित्रिएका नयाँ अनुहार पनि थिए भिड्मा । चौबिस घण्टे दैनिकीको अधिकांश समय कार्यथलोमै विताउछन् मकाउबासी नेपाली । तर 'जहाँ इच्छा त्यहाँ उपाय' । मकाउमै पहिलोपटक नेपाली खबरपत्रिका प्रकाशन गरेर यिनले यो चल्तीको उखानलाई थप बल मात्र पुर्याएनन इतिहास नै कोरे । लेखन र अध्ययनमा रुचि राख्ने केही युवाहरूका सकृयतामा यहाँ पहिलोपटक 'गन्तव्य मकाउ' नामक वाषिर्क खबरपत्रिका प्रकाशन भएको छ । हङकङ तथा मकाउका लागि नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्यायले पत्रिकाको विमोचन गरेका हुन् । मकाउबासी नेपालीको प्रयासलाई उपाध्यायले आफ्नो देश र नेपाली भाषाप्रतिको मोह बताए ।
'गन्तव्य मकाउ' सम्पादक टोलीका सदस्य तथा मुख्य व्यावस्थापक कास्कीका पूर्ण गुरुङले स्थानीय समाचारबाट टाढिनु परेकाले यस्तो सोच आएको बताए । 'इन्टरनेटको सुविधाले विश्व समाचार नजिकबाटै नियाल्ने सुविधा भएपनि मकाउबासी नेपाली आफ्नै समूहभित्रका खबरबाट भने वञ्चित छन', पत्रिका निकाल्नुको उद्देश्यबारे प्रष्ट्याउदै गुरुङले भने, 'एक आपसमै चिनिन र यहाँ कार्यरत नेपालीहरू बीच आपसी सदभाव बढाउने सोच पनि हो ।' पहिलो अंकमा यहाँ कार्यरत नेपालीहरूका अनुभव, उपलब्धि लगायत विभिन्न क्षेत्रमा नाम कमाएकाहरूका चिनारी समेटिएका छन् । पत्रिकाले कुनै जमानाका ख्यातिप्राप्त राष्ट्रिय खेलाडीहरू बक्सर चित्र बहादुर गुरुङ र मानबहादुर श्रेष्ठ, सितेरियोका कृष्ण गुरुङ, भलिबल खेलाडी दीपक ताम्राकार र मधुकर थापा लगायतले खेल क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेको छ । राज्यले संरक्षण र सुविधा प्रदान गर्न नसक्दा यी प्रतिभावान खेलाडीहरू हाल मकाउमै सुरक्षा पेशामा कार्यरत छन् ।
समारोहमा गैर आवासीय नेपाली संघ हङकङका निवर्तमान अध्यक्ष त्रिलोक गुरुङले पत्रिकाले मकाउबासी नेपालीहरू बीच सूचना तिर्सना मेटन यसले दरिलो पुलको काम गर्न सक्ने भनाई राखेका थिए । मकाउबाट नेपाली पत्रिका प्रकाशन हुनुलाई ऐतिहासिक बताउदै नेपाल पत्रकार संघ हङकङका अध्यक्ष किसन राईले यसलाई निरन्तरता दिन सबैले सघाउनु पर्ने बताए । पत्रिका तीन वा छ महिनामा एकपटक निकाल्ने सोचिएका भएपनि आर्थिक समस्या र समयाअभावमा कारण अहिलेनै त्यसो गर्न नसकिने सम्पादक मण्डलका गुरुङको भनाई थियो । पहिलोपटक ५ सयप्रति छपाउदा करिब एकलाख रुपैयाँ खर्च भएको समेत उनले जनाए । २० पटाका (करिब दुईसय रुपैयाँ) मुल्य तोकिएको पत्रिका पहिलो दिनमै असीप्रति सकिएकामा भने उनले खुशी व्यक्त गरे । सम्पादक मण्डलमा पूर्ण सँगै रामेन्द्रकुमार गुरुङ र वीरबल गुरुङ छन् । पूर्ण कास्की र अन्य दुई स्याङजाका हुन् । 'हामी कोही पनि यसक्षेत्रका अनुभवी होइनौ', पूर्णले भने, 'सानैदेखिको पत्रपत्रिका पढने बानीले धेरथोर लेख्न पनि सिकिएछ, यसपटक थुप्रै कमजोरी भए अर्कोपटक सुधार गर्दै लानेछौँ ।'
No comments:
Post a Comment