लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १८,माओवादीभित्र चर्किएको द्वन्द्वका कारण पार्टीद्वारा सञ्चालित रेडियो मिर्मिरे एफएमको प्रसारण २५ घण्टा बन्द भएपछि हिजोदेखि परीक्षण प्रसारण सुरु भएको छ। आइतबार राति दाहाल पक्षका कर्मचारीले सामान उठाएर लगेपछि प्रसारण बन्द भएको थियो। आज बिहान ६ बजेदेखि यसको नियमित प्रसारण हुने मेचीकाली संचार प्रालिका अध्यक्ष घनश्याम श्रेष्ठले बताएका छन्। पूर्व अध्यक्ष दाहाल पक्षीय विष्णु सापकोटाको नेतृत्वमा रहेको एक समूहले अनामनगर ३२ मा रहेको यस रेडियोमा लुटपाट गरेकाले प्रसारणमा अवरोध पुगेको श्रेष्ठले एक विज्ञप्तिमार्फत् जनाएका छन्। सापकोटाले भने श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिएको आरोप लगाएका छन्। श्रेष्ठले चाहिँ कम्पनीले सबै पत्रकारहरुलाई पारिश्रमिक र दशै वोनस समेत दिइसकेको दावी गरेका छन्। सापकोटाको अगुवाइमा ट्रान्समिटर १ वटा , कम्प्युटर ३ वटा , हाइव्रिड २ वटा , हार्डडिस्क ६ वटा , ईन्टरनेट कनेक्टर लगायत सामान लुटिएको श्रेष्ठको भनाइ रहेको छ।
नेपाल पत्रकार महासंघका सभापति शिव गाउँलेसहितको दबाबमा विष्णु सापकोटा आफैं आई ताला खोले पनि ती सामग्री अझै फिर्ता नभएको, प्रहरीले घटनास्थलबाट मुचुल्का गरी तत्काल लगिसकेको र चोरी भएका सामान फिर्ता ल्याउन ‘माथिको दबाबका कारण केही गर्न नसक्ने' प्रहरी प्रशासनबाट प्रतिक्रिया आएको श्रेष्ठले बताएका छन्। लुटिएका सामान तत्काल फिर्ता नभए त्यसलाई पूरा गर्न छिट्टै सडकमा गएर जनतासँग एकएक रुपियाँका दरले चन्दा उठाएर रेडियो नियमित रुपमा प्रसारण गर्ने उनले बताएका छन्।
No comments:
Post a Comment