News

Jun 2, 2008

गृहमन्त्रीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
गणतन्त्र कार्यन्वयनको घोषणा भएको छैठौं दिन गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । जेठ २० गते विहान ११ बजे देखि १२:३५ बजेसम्म भएको भेटमा पूर्व राजाले १५ दिन भित्रै नारायणहिटी छाड्ने बचन दिएका छन् ।पूर्व राजा ज्ञानेन्द्रले नेपाल सरकारका गृहमन्त्री सिटौलासँग सुरक्षा र निवासको व्यवस्था मिलाउन माग गरेका छन् । 'निवास र सुरक्षा व्यवस्था मिले पछि तुरुन्तै सरी हाल्छ' पूर्व राजालाई उधृत गर्दै गृहमन्त्री सिटौलाले भने ।संविधान सभाको पहिलो वैठकको निर्णयलाई सहज रुपमा लिएको कुरा पनि पूर्व राजाले गृहमन्त्री सिटौलालाई बताएका थिए । दरबार भित्रको कागज पत्र जलाइएको लगायतका अनावश्यक हल्लाले भने आफूलाई दुःखी बनाएको कुरा उनले गृहमन्त्री सिटौलासीत राखेका थिए ।नारायणहिटी लगायत राष्ट्रियकरण गरिएका दरबारको सुरक्षा सम्बन्धमा सुझाव दिन बनेको समिति र सम्पत्ती विवरण बारे अभिलेख राख्न बनेको समितिको कार्यलय पनि नारायणहिटी मै रहने पनि गृहमन्त्रीले जानकारी गराएका छन् ।संविधानसभाको वैठकको निर्णय पश्चात पूर्व राजामा ठूलो परिवर्तन आएको र आफूलाई एउटा नागरिकले मन्त्रीलाई गर्नु पर्ने सम्मान गरेको गृहमन्त्रीको भनाई थियो ।पूर्व राजालाई गृहमन्त्री एक पटक एक्लै र अर्को पटक समितिका सदस्यहरुसँग संयुक्त रुपमा भेटेका थिए ।

No comments: