News

Dec 2, 2009

चर्कियो माओवादीमा गणराज्य सीमा विवाद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०२डिसेम्बर,२००९, स्वायत्त गणराज्यको सीमांकनको बिषयमा विवाद उत्पन्न भएका कारण एकीकृत माओवादीको स्थायी समितिको बैठक आज बुधबार बिना निष्कर्ष टुँगिएको छ । पार्टी मुख्यालय, पेरिसडाँडा, कोटेश्वरमा बसेको बैठकमा गणराज्यको नामाकरण र सीमांकनको बिषयमा नेताहरुबीच मतभेद देखिएपछि निष्कर्षहीन बन्न पुगेको माओवादीस्रोतले जनाएको छ । भोलि बस्ने बैठकले सीमांकनका बारेमा निर्णय गर्ने माओवादीका प्रवक्ता दीनानाथ शर्माले बताउनुभयो । स्वायत्त गणराज्यको बिषयमा एकीकृत माओवादीको शीर्ष नेतृत्वले पार्टीको जातीय तथा क्षेत्रीय मोर्चा र विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुसँग गरेको छलफलमा चर्को विवाद देखिएपछि यसबारे टुङ्गोमा पुग्न स्थायी समितिलाई जिम्मेवारी दिइएको छ । पार्टी अध्यक्ष प्रचण्डले स्वायत्त राज्यको नामांकन र सीमांकनमा विवाद नगर्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आएका छन् । । प्रचण्डले गणराज्य घोषणामा जातीय पक्षलाई भन्दा वर्गीय पक्षलाई प्रधान बनाउनुपर्ने प्रस्तावसमेत पेश गरेका छन् । आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, जारी आन्दोलन लगायतका बिषयमा छलफल भएको माओवादीस्रोतले जनाएको छ । माओवादीले यही मंसिर २६ गतेबाट १३ गणराज्य घोषणा गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

No comments: