लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
समुद्री सतहबाट १७ हजार फिटमाथि कालापत्थरमा नेपाल सरकार मन्त्रिपरिषदको आज शुक्रबार बिहान बसेको बैठकले १० बुँदे घोषणापत्र जारी गरेको छ । सबैभन्दा अग्लो स्थानमा मन्त्रिपरिषदको बैठक बसेको यो पहिलो पटक हो । प्राप्त समाचार अनुसार जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरका बारेमा विश्वको ध्यानाकृष्ट गर्ने उद्देश्यका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको काख कालापत्थरमा आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले कालापत्थर घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । बैठकले दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र, रामेछाप र दोलखाको गौरीशंकरलाई संरक्षण क्षेत्र घोषणा गरेको छ । बैठकले डेनमार्कको कोपेनहेगनमा हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा नेपालले प्रस्तुत गर्ने प्रस्ताव अनुमोदन गरेको छ । कोपेनहेगन सम्मेलनमा नेपालले हिमाल बचाऔं भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । मन्त्रिपरिषद बैठक २० मिनेट बस्ने भनिएता पनि मौसमको अनुकूलताका कारण बैठक करिब आधा घण्टा बसेको थियो । प्रधानमन्त्री माधवकुमार नेपालले हिमाली राष्ट्रहरु जलवायु परिवर्तनविरुद्ध एकजूट हुनुपर्ने बताउनुभयो । मन्त्रिपरिषदको बैठकका लागि प्रधानमन्त्री माधवकुमार नेपालसहित २३ मन्त्री बिहान साँढे आठ बजे स्याङबोचेबाट कालापत्थरतर्फप्रस्थान गरेका थिए । आज बिहान स्याङबोचेमा प्रधानमन्त्री माधवकुमार नेपालसहित २३ मन्त्रीहरुको स्वास्थ्य स्थितिका बारेमा चिकित्सकहरुले परीक्षण गरेका थिए । उनीहरुको रगतमा अक्सिजनको मात्रा उपर्युक्त देखिएपछि चिकित्सकहरुले कालापत्थर जान अनुमति दिएका थिए । प्रधानमन्त्रीसहित मन्त्रीहरु हेलिकोप्टरबाट त्यसतर्फगएका थिए । प्रधानमन्त्री माधवकुमार नेपालसहित २३ जना मन्त्री हिजो लुक्ला पुगेका थिए भने आज बिहान स्याङबोचे पुगेका थिए । स्याङबोचे क्षेत्रमा उत्सव नै देखिएको छ । नेपाल टेलिभिजन लगायत केही विदेशी च्यानलहरुले बैठकस्थलको प्रत्यक्ष प्रसारण गरेका थिए । मन्त्रिपरिषद बैठकको आवश्यक सुरंक्षका लागि सयौं प्रहरी परिचालन गरिएको थियो । बैठकले गर्ने महत्वपूर्ण निर्णयको समाचार संकलन तथा प्रचारप्रसारका लागि स्वदेशी तथा विदेशी गरी ६० जना पत्रकार तथा सञ्चारकर्मी लुक्लामा भेला भएका छन् । त्यस्तै दर्जनभन्दा बढी नेपाल सरकारका सचिव तथा सरकारी अधिकारीहरु, चिकित्सकको टोली लुक्ला पुगेको छ । मन्त्रिपरिषद् बैठक सम्पन्न भएपछि बैठकका सर्न्दर्भमा गएको टोली शुक्रबार नै राजधानी र्फकने कार्यक्रम तय भएको छ । बैठकमा बाणिज्य तथा आपूर्ति मन्त्री राजेन्द्र महतो विदेश गएको र रक्षामन्त्री विद्यादेवी भण्डारी र विज्ञान तथा प्रविधि राज्यमन्त्री इन्द्रप्रसाद ढुंगेलले स्वास्थ्यका कारण बैठकमा सहभागी भएका छैनन् ।
No comments:
Post a Comment