लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०५डिसेम्बर,२००९, भूमिहीन सुकुम्बासी र प्रहरीबीच शनिबार भएको झड्पपछि आज शनिबार पनि कैलाली जिल्ला तनावपूर्ण रहेको छ । भूमिहीन सुकुम्बासीहरुमाथि प्रहरीले निर्मम दमन गरेको भन्दै एकीकृत माओवादीले आजदेखि अनिश्चितकालीन कैलाली बन्दको आह्वान गरेको छ । प्राप्त समाचार अनुसार बन्दका कारण कैलालीको सदरमुकाम धनगढी लगायतका प्रमुख बजारहरु ठप्प बन्न पुगेका छन् । कैलालीको गालियाचौर गाविसको जंगल कब्जा गरेर बसेका सुकुम्बासीलाई प्रहरीले हटाउने क्रममा भएको झड्पमा एक प्रहरीसहित ५ जनाको मृत्यु भएको थियो । झड्पमा प्रहरी जवान पदम ऐडीसहित नरेन्द्र विक, सञ्जय ढकालको मृत्यु भएको छ । ढकाल एकीकृत माओवादी जिल्ला सचिवालय सदस्य भएको माओवादीले जनाएको छ । जंगलमा टहरा बनाएर बसेका सुकुम्बासीहरुलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले वन अतिक्रमण गरी बनाएका टहरालाई भत्काईदिएपछि प्रतिकारमा बञ्चरो, खुकुरी, भाला लिएर आएका सुकुम्बासीहरुले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको जनाएको छ । सुकुम्बासीहरुको आक्रमणबाट केही प्रहरी घाइते भएका छन् । आज शनिबार बिहानैदेखि कैलाली तनावग्रस्त बन्न पुगेको छ । आक्रोशित सुकुम्बासीहरुले राजमार्गमा सात वटा सवारी साधनमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाको लम्की बजारबाट झण्डै ४ किमीको दूरीमा रहेको जंगल कब्जा गरी बसेका सुकुम्बासीहरु हटाउन दुई हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।कैलाली घटनाको विरोधमा माओवादी निकट आज अखिल नेपाल सुकुम्बासी संघले आज थारुवान क्षेत्र बन्द आह्वान गरेको छ । बन्दका कारण दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा सवारी साधन, उद्योग, कलकारखना, बजार बन्द छन् । अचानक यातायात बन्द हुँदा सर्वसाधारण यात्रु मारमा परेका छन् ।
No comments:
Post a Comment