News

Dec 4, 2009

भारतबाट नेपालले प्रतियुनिट ११ रुपैयाँमा बिजुली खरिद गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१८ मंसिर,नेपाल विद्युत् प्राधिकरणले भारतको पश्चिमबंगालबाट प्रतियुनिट ११ रुपैयाँमा १५ मेगावाट बिजुली खरिद गर्ने भएको छ । सो बिजुली टनकपुर नाकाबाट आयात हुनेछ । बिजुली खरिदबारे छलफल गर्न भारत गएका प्राधिकरण अधिकारीले १ जनवरीबाट १५ मेगावाट बिजुली किन्ने सहमति गरेका हुन् । टनकपुरमा बिजुली मूल्य प्रतियुनिट ६ रुपैयाँ ७० पैसा भारु अर्थात् १० रुपैयाँ ७२ पैसा रहेको छ । टनकपुरबाट वितरण केन्द्रमा आउँदा प्राविधिक चुहावट हुने भएकाले वास्तविक मूल्य अझ महँगो पर्ने प्राधिकरणले जनाएको छ । सो मूल्य उपभोक्ता मूल्यभन्दा अत्यधिक उच्च हो । यसअघि नै सरकारले भारतबाट आयात गर्दा प्राधिकरणलाई नोक्सान हुने रकम अनुदान दिने निर्णय गरेको छ । प्राधिकरणले सो बिजुली ३० अपि्रलसम्म आयात गर्ने सहमति भएको छ । भारतबाट आयातीत बिजुली पूर्व ल्याउँदा बढी चुहावट हुने हुँदा भालुबाङसम्म मात्र उपभोग गरिने प्राधिकरण कार्यकारी निर्देशक डा. जीवेन्द्र झाले जानकारी दिए । प्राधिकरणले अन्य नाकाबाट पनि बिजुली माग गरेको छ । भारतीय पक्षले स्वदेशको आवश्यकता र आपूर्तिबारे अध्ययन भइरहेको जनाएको छ । अहिलेको बैठकमा भारतले थप बिजुली बेच्नेबारे टुंगो नलागे पनि टेलिफोनबाट छलफल अघि बढिरहेको प्राधिकरणले जनाएको छ । सीमावर्ती भारतमा समेत लोडसेडिङ रहेको हुनाले नेपालले माग गरेबमोजिम बिजुली पाउने सम्भावना छैन । दुहबी र गण्डकबाट थप १५/१५ मेगावाट आयात गर्ने सम्भावना रहेको प्राधिकरणका अधिकारीले बताएका छन् । हाल दुहबीबाट विद्युत आदानप्रदान सम्झौताअनुसार सस्तो मूल्यमा ५० मेगावाट बिजुली आयात भइरहेको छ ।

No comments: