News

Mar 14, 2010

जिम्मेवारी थप नगरे अनमिनले हात झिक्ने जनाऊ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर, चैत २-राष्ट्रसंघले नेपालस्थित शान्ति मिसन (अनमिन) को जिम्मेवारी थप नगरे अहिले भइरहेको भुमिकाबाट हात झिक्ने जनाऊ दिएको छ।
राष्ट्रसंघको राजनीतिक मामिला विभागका एशिया प्यासेफिक क्षेत्रका निर्देशक ताम्राट सामुयलले प्रमुख तीन राजनीतिक दल एकीकृत माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेतासँग छलफल गरी अनमिनको कार्यदेश नथपिए अनमिन फिर्ता हुने बताएका हुन्।
आइतबार होटेल हिमालयमा गरिएको उक्त छलफलमा अनमिन प्रमुख केरिन लेनग्रेनसहित माओवादीका कृष्णबहादुर महरा, कांग्रेसका कृष्ण सिटौला र एमालेका ईश्वर पोखरेल सहभागी थिए। सामुयलले अनमिनको संविधानसभाको निर्वाचन र हतियार अनुगमनमा सहयोग पुर्‍याउने मात्र म्याण्डेट अधुरो भएको ब्याख्या गर्दै स्पष्ट राजनीतिक कार्यदेश हुनुपर्ने जिकिर गरेका थिए।
राष्ट्रसंघले विश्वका १६ मुलुकको शान्तिप्रक्रियामा संलग्न भइरहेकामध्ये नेपालले दिएको कार्यदेशलाई सबभन्दा कमजोर मान्दै आएको छ। उसले नेपालको सेना समायोजन प्रक्रिया र लडाकु अनुगमनमा स्पष्ट भुमिका माग गरेको छ। अनमिनको अहिलेको कार्यदेशलाई 'सहमति र मेलमिलापलाई बढावा दिने गुड अफिसेसको भूमिका' मात्र राष्ट्रसंघले व्याख्या गरेको छ।
जनवरी १५ को सुरक्षा परिषद्को प्रस्ताव अनुसार साढे तीन महिने म्याद थप हुँदा राष्ट्रसंघ मुख्यालयले अनमिनलाई नेपालका राजनीतिक दलसँग सहकार्य गर्दै हतियार अनुगमन कार्यको बुझबुझारथ र फिर्ती गर्ने म्याण्डेट दिएको थियो। त्यसै योजना अनुरूप अनमिनको उच्च अधिकारी फिर्तापछिको भावी विकल्पको बारेमा परामर्शमा जुटेको हो।

No comments: