News

Mar 17, 2010

सरकारविरुद्ध अविश्वासको प्रस्ताव माओवादीले नल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बाँके, चैत ३,एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने बताउनु-भएको छ । उहाँले सरकार सबैतिरबाट असफल भइसकेका कारण आफ्नो पार्टीले विशेष अधिवेशनको माग गर्ने उहाँले बताउनुभयो । "महँगी र भ्रष्टाचार व्याप्त छ, सरकार सबैतिरबाट असफल भइसकेको छ । हामी विशेष अधिवेशन बोलाई सदनमा गम्भिर रूपमा छलफल गर्छौं"- क्रान्तिकारी पत्रकार सङ्घले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले भन्नुभयो । विशेष अधिवेशन बोलाउनेबारे पार्टीमा छलफल भइरहेकाले एक/दुई दिनमै निर्णय हुने उहाँले बताउनुभयो ।
दलहरूबीच सहमति भए संविधान निर्माण र सेना समायोजनमा समस्या नरहेको र एकीकृत नेकपा माओवादी जेठ १४ मा सङ्क्षिप्त नभई पूर्ण संविधान निर्माण हुनुपर्ने पक्षमा रहेको बताउनुभयो ।
समयमै संविधान निर्माणका लागि सरकार बाधक रहेको प्रचण्डको आरोप छ ।
जनमुक्ति सेनालाई सेनामा समायोजन गर्नेबारे पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग कुनै गोप्य सहमति नभएको उहाँले दाबी गर्नुभयो । अनौपचारिक कुराकानीमा कहिलेकाहीँ गिरिजाबाबु तीन हजारलाई सेनामा समायोजन गर्ने भन्नुहुन्थ्यो, म १०/१२ हजार सेनामै हुनुपर्छ भन्थेँ- उहाँले भन्नुभयो ।
"समायोजनअघि को सेनामा जान चाहन्छ, को प्रहरीमा, कोही पढ्न चाहन्छ कि उनीहरूलाई सोधेर मात्र गर्नुपर्छ, उहाँले भन्नुभयो । उहाँले समायोजनाबारे सेना र विदेशीले जे भने पनि राजनीतिक सहमतिका आधारमा त्यसलाई टुङ्ग्याइने दाबी गर्नुभयो । उहाँले माओवादी लडाकू शिविरमा छैनन् भन्ने कुरा निराधार रहेको दाबी गर्नुभयो ।

No comments: