News

Mar 15, 2010

पुरानो जुत्ता लगाएको आरोपमा थुनिए हवल्दार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सप्तरी, १ चैत,पुरानो जुत्ता लगाएको आरोपमा एकजना ट्राफिक प्रहरी हवल्दारलाई आइतबार साढे दुई घन्टा थुनामा राखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक भुवनेश्वर साहले ट्राफिक हवल्दार रसीलाल यादवलाई थुनामा राखेका हुन् । नेपाल पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गरी हवल्दार यादवले आफूलाई प्रहरी निरीक्षक साहले पुरानो जुत्ता किन लगाइस् भन्दै घोक्रयाएर अपराधी थुन्ने कोठामा राखेको बताए । विगत आठ वर्षदेखि स्केल नपाएकाले आफ्नै पैसाले किनेको जुत्ता पुरानो भइसकेको बताइरहँदा पनि अपराधीलाई जस्तै थुनेको यादवको भनाइ छ । सप्तरीको रामनगर कोदरकट्टी घर भई राजविराज ट्राफिक प्रहरी कार्यालयमा कार्यरत यादव ड्युटी बुझ्न जिल्ला प्रहरी कार्यालय पस्नेबित्तिकै गेटमा रहेका प्रहरी निरीक्षक साहले आफूलाई थुन्न लगाएको उनको आरोप छ । पत्रकार सम्मेलनमा यादवले कुनै गल्ती नगरे पनि थुनामा राखेर आफूलाई अन्याय गरेको बताउँदै न्याय दिलाइदिन सबैसँग आग्रह गरे । 'मैले गल्ती गरेकै भए पनि सजाय दिने निकाय ट्राफिक प्रहरी छ,' उनले भने, 'जनपद प्रहरीले विनाकारण मलाई दुःख दिएर अन्याय गर्‍यो ।' 

No comments: