लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) की राज्य समिति सदस्य सुनिता केसी हतियारसहित चाबहिलबाट आइतबार साँझ पक्राउ परेकी छिन्। प्रहरी परिसर हनुमानढोकाबाट खटिएको प्रहरीको विशेष टोलीले केसीलाई झोलामा हतियार लिएर हिँडिरहेको अवस्थामा पक्राउ गरेको परिसर प्रमुख उपरीक्षक गणेश केसीले जानकारी दिनुभयो। चीनबाट अवैध रूपमा नेपाल भित्र्याइएको उक्त हतियार केसीले आपराधिक समूहलाई आफ्नो हतियार भाडामा दिने र काम सकिएपछि तोकिएको मूल्य र हतियार फिर्ता लिने गरेको उनले प्रहरीमा बयान दिएकी छिन्। केसीले बोक्ने गरेको उक्त हतियारले राजधानीमा भएका थुप्रै घटनामा प्रयोग भएको जानकारी पाएपछि केही दिनदेखि प्रहरीले उनको पिछा गरिरहेको र आइतबार साँझ उक्त हतियार अपरिचित युवासित फिर्ता लिएर जान लाग्दा सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ।चीनमा बनेको ९ एमएमको पेस्तोल ६ वटा गोली र केही म्याग्जिनसमेत प्रहरीले उनको साथबाट बरामद गरेको छ। प्रहरीले केसीले कसलाई हतियार भाडामा दिएको हो भन्ने विषयमा सोधपुछ गरिरहेको र उनीसँग संलग्न अन्य माओवादी कार्यकर्ताको समेत खोजी गरिरहेको छ। राजधानीमा साना हतियारको बिगबिगी भइरहेको र साना हतियार प्रयोगकै कारण असुरक्षित भइरहेको बेला प्रहरीले पहिलो पटक पेस्तोलसहित महिलालाई पक्राउ गरेको हो। प्रहरीले उनीसँगै पक्राउ परेका युवकको भने राति अबेरसम्म परिचय खुलाएको छैन। तर ती युवक पनि वाईसीएल कार्यकर्ता भएको दाबी प्रहरीले गरेको छ। पक्राउ परेकी केसीले विगत दुई वर्षदेखि हतियार भाडामा लगाएर व्यवसायकै रूपमा सञ्चालन गर्दै अँइरहेको बताइएको छ।
No comments:
Post a Comment