News

Mar 17, 2010

तालिमस्थलबाट भाग्ने क्रममा प्रहरीको भीरबाट लडेर मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, चैत ४- सशस्त्र प्रहरीको तालिमस्थलबाट भाग्ने क्रममा कैलाश केसीको भीरबाट लडेर मृत्यु भएको छ। उनीसँगै भागेका विजय केसी र विश्व गौतम बेपत्ता छन्। उनीहरु तालिम गर्न गाह्रो भएपछि भागेको प्रहरीको अनुमान छ। पोखरा–१८ लामापाटनस्थित सशस्त्रको तालिमस्थलबाट मङ्गलबार बिहानै अन्य दुई साथीसँगै भागेका दाङको हेकुली गाविसका १९ वर्षीय केसीको नजिकैको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।तालिम छाडेर सँगै भागेका बाग्लुङका विजय केसी र विश्व गौतम भने भाग्न सफल भएका छन्। सशस्त्र प्रहरी महाविद्यालयमा फागुन २५ गतेदेखि सुरु भएको ९ महिने सिपाही तालिममा उनीहरुसहित १ सय जना सहभागी थिए।सशस्त्र प्रहरी स्रोतले भाग्ने क्रममा एक जनाको भीरबाट लडेर मृत्यु भएको र अन्य दुई जना सम्पर्कबिहीन भएको जनाएको छ। तालिममा गाह्रो भएपछि उनीहरु भागेको अनुमान गर्दै सशस्त्रका एक अधिकारीले भाग्न सफल दुवै जनाको खोजी भइरहेको बताए।'बिहान तालिम हुने बेलामा तीन जना अनुपस्थित भएपछि मात्र उनीहरु भागेको थाहा भयो', ती अधिकारीले भने- खोज्दै जाँदा एक जना भीरबाट लडेर मरेको अवस्थामा भेटिए। तालिम केन्द्र पूर्वतर्फको भीर नजिकै तारबार नाघेर भाग्ने क्रममा केसी लडेको प्रहरीको अनुमान छ।

No comments: