News

Jun 2, 2008

सत्ता हस्तान्तरण नगरिए माओवादीको सडक आन्दोलनमा उत्रिने चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले दुइ-तीन दिनभित्र सत्ता हस्तान्तरण नगरिए सरकारबाट बाहिरिएर सडक आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ। संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको माओवादीलाई सरकारको नेतृत्व गर्न दिन आनाकानी गरेर नेपाली कांग्रेसले षड्यन्त्र गरेको आरोप पनि उहाँले लगाउनुभयो।अध्यक्ष प्रचण्डले संविधानसभामा पराजित दलका नेता राष्ट्रपति बन्न खोज्नुले लोकतन्त्रको अपमान भएको पनि बताउनुभएको छ। लोकतान्त्रिक गणतन्त्र स्थापना भएको अवसरमा माओवादी गोरखाले आइतबार सदरमुकाममा आयोजना गरेको गणतन्त्र विजय सभामा बोल्दै प्रचण्डले सो कुरा बताउनुभएको हो। अध्यक्ष प्रचण्डले भन्नुभयो- अहिले संसद्वादी दलहरूले अगाडि बढाएको कुतर्कअनुसार मूल राजतन्त्रको अन्त्य भए पनि छोटे राजाहरूको अन्त्य हुन सकेको छैन भन्ने प्रमाणित भएको छ। गणतन्त्रकै कार्यान्वयनका लागि राष्ट्रपति र उपराष्ट्रपतिको प्रस्ताव माओवादीले स्वीकारेको हो। तर राष्ट्रपति अर्का पार्टीलाई दिने कुरामा सहमति भएको छैन। चुनावमा प्रथम राष्ट्रपतिको नारा माओवादीले दिएकाले राष्ट्रपतिको पदमा अरूले दाबी गर्न मिल्दैन।’संविधानसभाको निर्वाचनमार्फ नेपाली जनताले शान्ति प्रक्रिया, सरकारको नेतृत्व र नयाँ संविधान निर्माण गर्ने जिम्मेवारी माओवादीलाई नै दिएको प्रचण्डको दाबी छ। तर हामी संसद्वादी दलहरूसँग सहकार्य गर्ने कुरामा अझै पनि प्रतिबद्ध छौं। माओवादी संविधानसभाको चुनावमा पनि सबैभन्दा बढी संयम भएकै हो’ -उहाँले भन्नुभयो।सोही सभामा माओवादीका अर्का नेता डा. बाबुराम भट्टर्राईले मूल राजतन्त्रको अन्त्य भए पनि केही दलहरूमा परम्परागत सोच र चिन्तन बाँकी रहेकाले नारायणहिटी मात्र होइन बालुवाटार दरबार पनि खाली गर्नुपर्ने बताउनुभयो।माओवादी गोरखा सचिव चूडामणि खड्काको सभापतित्वमा भएको सो कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य हितराज पाण्डे, साहित्यकार खगेन्द्र संग्रौलालगायतले बोल्नुभएको थियो।पृथ्वीनारायण शाहले राजगद्दी आरोहणदेखि नेपालको एकीकरणको थालनीसमेत गरेको ऐतिहासिक गोरखा दरबारमा आइतबार नै लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएको बोर्डसमेत राखिएकोे छ। माओवादी अध्यक्ष प्रचण्ड, डा. बाबुराम भट्टर्राई र वर्षान पुनलगायतका नेताहरूले गोरखा दरबारभित्रको अवस्था र वस्तुहरूको अवलोकनसमेत गर्नुभएको थियो।माओवादी अध्यक्ष प्रचण्डले गोरखाको तल्लो दरबार भनेर चिनिने गोरखा संग्रहालयको पनि आइतबार नै एक समारोहबीच उद्घाटन गर्नुभएको छ।राजा राजेन्द्र विक्रमको पालामा वि.सं. १८९६ मा निर्माण भएको सो दरबारलाई पृथ्वी संग्रहालय बनाउने योजनाअनुरूप २०४२ सालबाट पुरातत्त्व विभागले संरचनाहरू निर्माण गरेको थियो। लोकतन्त्रपछि सो संग्रहालयलाई गोरखा संग्रहालय नामकरण गरिएको थियो। सदरमुकामस्थित सो संग्रहालय आइतबारबाट र्सवसाधारणका लागि समेत खुल्ला गरिएको छ।

No comments: