News

Sep 9, 2010

बलिया देशमध्ये नेपाल १ सय ३० औंमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २४- विश्व प्रतिस्पर्धात्मक प्रतिवेदन (२०१०/११) ले स्वीट्जरल्याण्ड सबभन्दा बलियो देश भएको देखाएको छ भने नेपालको स्थान १ सय ३० औं मा परेको छ। विश्व आर्थिक मञ्चले 'माइक्रो र म्याक्रो' अर्थतन्त्रको विश्लेषण गरी तीन वर्षदेखि प्रकाशन गर्दै आएको प्रतिस्पर्धात्मक प्रतिवेदन आज विश्वभरझैँ नेपालमा पनि सार्वजनिक गरियो।
नेपालमा त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले यस अनुसन्धानको जिम्मेवारी लिँदै आएको छ। सेडाका कार्यकारी निर्देशक भरत पोखरेलले प्रतिवेदनको सार प्रस्तुत गर्दै यस वर्ष १ सय ३९ देशबाट अध्ययन गरिएको र त्यसमा नेपाल १ सय ३० औँमा परेको जानकारी दिए।गत वर्ष १ सय ३३ औँ देशहरूमा नेपाल १ सय २५ औंमा परेको थियो। अध्ययनमा एडम स्मिथको श्रम विभाजन र विशिष्टता, नवउदारवादको भौतिक पुँजी र संरचना, शिक्षा र तालिम, आर्थिक स्थायित्व, सुशासन, बजार व्यवस्थापनजस्ता विभिन्न १२ वटा सैद्धान्तिक आधार तय गरिएको थियो।प्रतिवेदनमा दस बलिया देशमा स्वीट्जरल्याण्डपछि क्रमशः स्वीडेन, सिङ्गापुर, अमेरिका, जर्मनी, जापान, फिनल्याण्ड, डेनमार्क र क्यानाडा परेका छन्। यसैगरी दस कमजोर देशमा चाड, अङ्गोला, ब्रुण्डी, जिम्बाबे, मोरिटानिया, बुरकिना फासो, टिमोर लेस्ते, माली, मोजाम्बिक र नेपाल छन्। प्रतिवेदनमा चीनको स्थान २७ औंमा देखाइएको छ भने दक्षिण एसियामा भारतको स्थान राम्रो अर्थात् ५१ औंमा परेको छ। बलिया देखिएका मुलुकमा शिक्षा, दक्षता, प्रविधि र स्वास्थ्यमा राज्यको प्राथमिकता, सार्वजनिक संस्थाहरूमा व्यावसायिकता, रोजगारको प्रबन्ध तथा काममा दण्ड एवम् पुरस्कारको नीति अपनाइएको प्रतिवेदनमा उल्लेख छ।

No comments: