News

Sep 20, 2010

उम्मेदवारी फिर्ताले मधेसवादी दल अन्योलमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ असोज,माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने निर्णय गरेपछि मधेसवादी दल अन्योलमा परेका छन् । अघिल्ला चुनावमा आफ्नो भोट सदुपयोग नगरेर 'अवसर गुमाएको' भन्दै सभासद्हरूले पार्टी नेतृत्वलाई र्‍याख्र्‍याख्ती पारेका छन् । प्रधानमन्त्रीको आगामी चुनावमा मतदान प्रक्रियामा सहभागी हुने निर्णय गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलाई माओवादीको निर्णयले अप्ठ्यारोमा पारेको छ । लोकतान्त्रिक फोरमभित्र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई भोट हाल्न दबाब बढेपछि २२ भदौको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको थियो ।
माओवादीले नै चुनावी प्रक्रियामा सहभागी नहुने निर्णय गरेपछि मधेसी मोर्चामा रहेका मधेसवादी दलमा अन्योल सिर्जना भएको छ । स्रोतका अनुसार २२ गतेको बैठकमा उपप्रधानमन्त्री विजय गच्छेदारले पार्टीका असन्तुष्ट सभासद्लाई १० गते एकीकृत माओवादीलाई भोट हाल्ने आश्वासन दिएर थुम्थुम्याएका थिए । '१० गते माओवादीलाई भोट हाल्ने सर्तमा २२ गते पार्टीले बहिष्कार गरेको थियो, तर अब पार्टीले कसलाई भोट हाल्छ ?' लोकतान्त्रिक फोरमका सभासद् प्रमोदप्रसाद गुप्ता भन्छन्, 'हामीले ठूलो अवसर गुमायौँ । अब मधेसवादी दल सरकारमा जानु हुँदैन ।' २२ गते बिहान लोकतान्त्रिक फोरमका गुप्ता, करिमा बेगमलगायत ११ सभासद्ले भक्तपुर निलम बर्माको घरमा बैठक गरी माओवादीलाई भोट हाल्न पार्टी नेतृत्वलाई दबाब दिने निर्णय गरेका थिए । उनीहरूको दबाबपछि पार्टी नेतृत्वले संसदीय दलको बैठकलाई अबेरसम्म लम्ब्याएर मतदान प्रक्रिया टारेको थियो ।

No comments: