News

Sep 26, 2010

क्यानडा र ब्राजिलले नेपालमा दूतावास खोल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
९ असोज,क्यानडा र ब्राजिलले नेपालमा दूतावास खोल्ने भएका छन् । फिनल्यान्डले भने नेपालमा रहेको दूतावासलाई आवासीय स्तरको बनाउने भएको छ । क्यानडाले दूतावास खोल्नका लागि हालै मात्र सरकारसँग स्वीकृति मागेको हो । 'क्यानडाले चाँडै दूतावास खोल्ने जानकारी गराउँदै स्वीकृति (एगि्रमो) का लागि अनुरोध गरेको छ,' परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, 'अब मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि क्यानडालाई दूतावास खोल्न सहमति दिइनेछ ।' नेपालका लागि क्यनडाका नयाँ राजदूत स्टेवार्ट जी बेक आउने भएका छन् । बेक हाल अमेरिकाको सान फ्रन्सिस्कोस्थित क्यानेडाली महावाणिज्यदूतका रूपमा कार्यरत छन् । हालसम्म नयाँ दिल्लीस्थित क्यानेडाली राजदूतले नेपाल हेर्दै आएका छन् । क्यानेडियन सहयोग नियोगले भने नेपालमा रहेर काम गर्दै आएको छ । गत वर्षमात्रै नेपालले क्यानडामा दूतावास खोलेको थियो ।
ब्राजिलले पनि नेपालमा दूतावास खोल्ने तयारी गरेको छ । ब्राजिलका लागि नेपाली राजदूत प्रद्युम्नविक्रम शाहले केही महिनाभित्रै ब्राजिलले नेपालमा दूतावास खोल्ने जानकारी दिए । 'यहाँका राष्ट्रपतिले स्वीकृति दिइसकेका छन्, एक-दुई महिनाभित्रै दूतावास खोल्नका लागि ब्राजिलको विदेश सम्बन्ध मन्त्रालयका एक अधिकारी नेपाल आउनेछन्,' राजदूत शाहले भने । नेपालले भने गत वर्ष मात्रै ब्राजिलमा दूतावास खोलेको थियो ।
परराष्ट्र स्रोतका अनुसार फिनल्यान्डले समेत नेपालस्थित दूतावासलाई स्तरोन्नति गर्दै आगामी फागुनदेखि आवासीय राजदूतस्तरको बनाउने भएको छ । हालसम्म फिनल्यान्डको नयाँ दिल्लीस्थित राजदूतले नेपाल हेर्दै आएका छन् । नेपालमा फिनल्यान्डको कार्यबाहक राजदूतका रूपमा पिर्को लिस्सा क्योस्टोलिया छिन् ।

No comments: