News

Sep 20, 2010

गोलचक्कर तोड्नका लागि तीनबुँदे सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा विद्यमान राजनीतिक गोलचक्कर तोड्नका लागि आफ्नो पार्टी र नेकपा (एमाले) बीच तीनबुँदे सहमति भएको बताउनुभएको छ ।एमाओवादीमा आज प्रवेश गरेका नवजनवादी मोर्चा, नेकपा (एकीकृत) र नेकपा (मसाल) का नेता/कार्याकर्तालाई स्वागत गर्ने क्रममा उहाँले दुई पार्टीबीचको सहमतिले गत्यारोध हट्ने उज्यालो देखिएको बताउँदै यसलाई मुलुकले निकास नपाउँदासम्म कायम राख्नुपर्नेमा जोड दिनुभयो ।ठूलो पार्टी हुनुको नाताले ठूलै जिम्मेवारी लिनुपर्छ भनेर आपनो दलले अनमिनको म्याद थप्ने र सेना समायोजन तथा पुनःस्थापना गर्ने विषयमा लचिलो बनेर सरकारसँग महत्वपूर्ण सहमति गरेको जानकारी दिदै अध्यक्ष प्रचण्डले सहमति एवम् सहकार्यका लागि नेपाली काँग्रेस र मधेसवादी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।देश विदेशमा क्रान्तिकारी र प्रतिक्रान्तिकारीबीच तीव्र ध्रुवीकरण भइरहेकाले क्रान्तिकारीले आपनो मोर्चा फराकिलो पार्नुपर्ने अध्यक्ष प्रचण्डको विचार थियो ।सो कार्यक्रममा नवजनवादी मोर्चाका अध्यक्ष रामराजाप्रसाद सिंह बाहेक प्रथम उपाध्यक्ष दीनानाथ भण्डारी, द्वितीय उपाध्यक्ष कृष्णकुमार राई, केन्द्रीय सचिवालय सदस्य आमोद दुञ्जुङ तामाङ, कुमारभक्त रञ्जितसहित ३८ जना एमाओवादीमा प्रवेश गर्नुभएको छ ।उपाध्यक्ष राईले अध्यक्ष सिंह र आफूहरूबीच बाँकी क्रान्ति पूरा गर्नेबारे वैचारिक अन्तर देखिएकाले आफूहरूमा रहेको उर्जा नफाल्न पूरै समूह एमाओवादीमा प्रवेश गरेको बताउनुभयो ।यसैबीच सोही कार्यक्रममा नेकपा (एकीकृत) को युवा सङ्घका अध्यक्ष उदय राई र नेकपा (मसाल) का धनबहादुर खत्री पनि एमाओवादीमा प्रवेश गर्नुभयो ।सो अवसरमा एमाओवादी उपाध्यक्ष मोहन वैद्यले क्रान्ति पूरा हुन बाँकी रहेकाले क्रान्तिकारी ध्रुवीकरण अभियानलाई अझै जारी राख्नुपर्छ भन्नुभयो ।कार्यक्रममा एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईसहित स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यहरू उपस्थित हुनुहुन्थ्यो ।

No comments: