News

Sep 27, 2010

हङकङ प्रहरीले १८ नेपालीलाई 'कम्युनिटी एम्बेस्डर' नियुक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,/पूर्ण बस्नेत,
असोज ११-डेढ वर्षअघि दिलबहादुर लिम्बुको हत्यापछि नेपाली समुदायसँग चिसिएको सम्बन्ध सुधार गर्न हङकङ प्रहरीले अठार जना नेपाली युवाहरूलाई 'कम्युनिटि एम्बेस्डर' बनाएको छ। नेपाली समुदायमा हुने अपराध नियन्त्रण तथा सम्बन्ध सुधारकै लागि प्रहरीमा छुट्टै नेपाली टास्क फोर्सलाई पनि सक्रिय तुल्याइएको छ।
कोरोनर्स अदालतले लिम्बुलाई गोली हान्ने प्रहरीलाई सफाई दिए पनि यो घटनाबाट पाठ सिकेर प्रहरीले आफ्नो कार्यशैलीमा सुधार गर्न थालेको हो। लागू पद्दार्थ सेवन गर्ने हङकङको अल्पसंख्यक समुदायमा नेपालीहरू अगाडि छन्। अल्प संख्यक समुदायलाई नै परिचालन गरेर यस्तो अपराध नियन्त्रण गर्ने रणनीति अर्न्तगत हङकङ प्रहरीले नेपाली लगायत पाँच विभिन्न समुदायबाट एक एक जनालाई प्रहरीमा नियुक्ति पनि दिएको छ।
'नेपलीज इन्गेजिङ द कम्युनिटि एम्बेस्डर' नाम दिइएका नेपाली दूतहरूमा पत्रकारिता, शिक्षण, स्वास्थ्य तथा सामाजिक संघसंस्थामा कार्यरत युवाहरू छन्। प्रहरीले 'कम्युनिटि एम्बेस्डर' को प्रमाणपत्र दिएका अठारमध्ये आधा केटीहरू छन्। 'नेपलीज क्राइम प्रिभेन्सन एम्बेस्डर' को नाममा अघिल्लो वर्ष शुरु गरिएको अभियानलाई यसपाली नाम परिवर्तन गरी निरन्तरता दिएको हो।
नेपालीको बाक्लो वस्ती रहेको याउचिम जिल्ला प्रहरीको नेपाली टास्क फोर्स अन्तर्गत रहेका दूतहरूलाई आवश्यकता अनुसार अन्य क्षेत्रमा समेत परिचालन गरिन्छ। "अपेक्षा गरे भन्दा बढी सहयोग पाएका छौँ र अझ बढी सक्रिय हुन आग्रह गर्छौँ", नेपाली कम्युनिटि एम्बेस्डरहरूको कामको समिक्षा गर्न शुक्रबार आयोजना गरिएको भेलामा नेपाली टास्क फोर्सको नेतृत्व गरिरहेका प्रहरी अधिकारी तुङफाई तान टोनीले भने।
नेपाल र हङकङको क्रस झण्डा सहित नमस्ते लेखिएको निलो रङको टि सर्ट लगाउने दूतहरू प्रहरीले बोलाएको ठाउँ र समयमा सहयोग गर्न पुग्छन्। नेपाली समुदायलाई कुलत वा आर्थिक-सामाजिक समस्याबाट मुक्त गर्ने प्रयासमा सहयोग गर्नुको साथै प्रहरीलाई सामान्य नेपाली भाषा सिकाउने, दोभाषेको काम गर्ने र स्कुलमा गएर नेपाली बालबालिकालाई ट्यूसन पढाउने काम समेत दूतहरूले गर्दै आएका छन्।
"हामी तलब पाउँदैनौँ र हामीसँग प्रहरीको पावर पनि हुँदैन" हङकङमा भिडियो वेभ म्यागेजिन चलाउने प्रदिप माल्बुल भन्छन्, "आर्थिक अवस्था कमजोर भएका परिवार तथा लागू पद्धार्थ सेवन गरी पुलमुनी सुत्ने दाजुभाईलाई त्यो समस्याबाट मुक्त गर्न स्वंसेवीको रुपमा प्रहरीलाई सहयोग गरिरहेका छौँ।"
नेपाली टास्क फोर्सले दूतहरूलाई चार समूहमा बाँडेर काम गरिरहेको छ। प्रहरीले नेपाली समुदायमा हुने अपराध उन्मूलन गर्न नेपाली भाषामै चेतनामूलक समाचार र सूचनाहरू दिने उद्देश्यले दुई महिनाभित्र वेभपत्रिका सञ्चालन गर्दैछ। वेभपत्रिका र समाचार बुलेटिन प्रकाशित गर्ने लगायतका सञ्चार सम्बन्धी जिम्मेवारी हिमाल समूहलाई दिइएको छ। त्यस्तै शान्ति सेवा, फिस्टेल र एभरेष्ट समूहलाई पनि छुट्टछुट्टै जिम्मेवारी तोकिएको छ।हङकङको अति व्यस्त समय बचाएर प्रहरीलाई सहयोग गर्न चाहने युवाहरू थपिइरहेका छन्।

No comments: