News

Sep 28, 2010

हङकङमा फुट्यो 'केवल' गंगाको कविताको मूल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १२ - तनहुँको भुजीकोटमा जन्मेहुर्केकी उनले आफ्नो नाममा उपनाम होइन, सहनाम जोडिन्- केवल । चञ्चल मनकी 'केवल' गंगा गुरुङ स्कुले पढाइ पूरा गरेर सात वर्षअघि कामको खोजी गर्दै हङकङ पुगिन् । अनि उतै प्रस्फुटन भयो, केवलभित्रको कविताको मूल । 'संगीत सिक्ने धुनमा संगीतकार दिनेश सुब्बाको संगतमा पुगेकी थिएँ,' एउटा अवसरमा काठमाडौंमा भेटिएकी गंगाले सुनाइन्, 'व्यस्तताले भायोलिन सिक्ने मेरो रहर पूरा नभए पनि मभित्र लुकेको कवित्वलाई बाहिर निकाल्न हङकङको सांगीतिक माहौलले साथ दियो ।' हङकङ बसाइका क्रममा लेखिएका २७ कविताको संग्रह 'कविता केवल गंगा गुरुङका' भर्खरै प्रकाशनमा आएपछि उनको चिनारी अलिक फराकिलो बनेको छ । 'उता व्यस्त समयका बाबजुद कहिले समय चोरी लेखिन्थ्यो त कहिले आफ्नो गाउँघरको यादले निद्रा नलाग्दा आधा रातमा पनि उठेर लेखिन्थ्यो,' गंगा भन्दै थिइन्, 'हाम्रो मनलाई यदाकदा माहौल र परिवेशले पनि कवि बनाउन सघाउन रहेछ ।'
दुई वर्षअघि परदेशबाट घर फिरेपछि पोखरावासी बनिरहेकी यी २४ वर्षे गुरुङ भाषामा पनि कविता लेख्छिन्, अनि 'तमु संसार' र अन्य पत्रपत्रिकामा छपाउने गर्छिन् । गण्डकी टेलिभिजनमा 'रियालिटी सो' की होस्ट गंगाको नाच्ने र गाउने सोख कविता लेख्नेभन्दा अब्बल रहेछ । 'अब छिट्टै गुरुङ फिल्म 'कर्मक्या' (कर्मको बाटो) मा राम्रै भूमिकामा देखिँदै छु,' उनले सुनाइन् ।
नेपाली साहित्य प्रतिष्ठान हङकङले निकालेको कविता कृतिमा प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फेले भनेका छन्, 'गंगाका कविताहरू मन छुने खालका छन्, जसले देशप्रतिको भावना जगाइदिन्छन् । परदेश बसाइको अशान्त मनलाई राहत पुर्‍याउँछ ।'
गंगा पढ्नमा पनि लेख्नजत्तिकै रुचि राख्छिन् । विक्रम सुब्बा, श्रवण मुकारुङ, उपेन्द्र सुब्बाका कविता पढ्नमा रमाइरहन्छिन् उनी । तर हङकङ परदेश छाडेर नेपाल आउनाको उनको धारणा र भावना भने अर्कै छ । उनले भनिन्, 'नेपालमा पैसाबिना पनि इलम गरेर बाँच्न सकिन्छ । हङकङमा पैसा नभई जीवन चल्दैन ।' परदेशबाट फिरेपछि पनि गंगाको कविता-यात्रा रोकिएको छैन, केही पातलिएको भने छ । घरभित्र देखिएको सामाजिक, राजनीतिक र अन्य बेथितिको दुहाइ पनि उनी कवितामै दिइरहेकी हुन्छिन् । जस्तो- म कविको नाउँमा
काग हुँ तिम्रो निम्तिअशुभ खबर कोरी पठाउँछु...
र्इकान्तिपुरबाट साभार

No comments: