News

Sep 18, 2010

जिदान बने कतारको ब्रान्डएम्बेस्डर

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दोहा/ सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने दाबी गरेको कतारले त्यस अभियानका लागि फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्वहस्ती जिनेदिन जिदानलाई ब्रान्ड एम्बेस्डर चुनेको छ । फिफाको टेनिकल टोलीले गत बिहीबार दोहाको भ्रमण गरेलगत्तै विश्वकप आयोजनाको तयारीमा जुटिरहेको कतारले जिदानलाई सो कार्यभार सुम्पिएको हो । पूर्व-मध्य एसियामा पहिलोपटक फुटबलको कुम्भमेला भित्र्याउनका लागि जिदानले त्यसको प्रचार गर्नेछन् । दोहामा एक कार्यक्रमबीच शनिबार जिदानले आफू ब्रान्ड एम्बेस्डर बन्न पाउँदा निकै खुसी लागेको बताए ।
सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताका लागि अस्ट्रेलिया, जापान, दक्षिण कोरिया तथा अमेरिकाले पनि दह्रो दाबेदारी दिइरहेका छन् । फिफाको टेक्निकल टोलीले दोहास्थित १२ रंगशालाको निरीक्षण गरेपछि सो राष्ट्रको दाबेदार बलियो भएको बताइएको छ । यता जिदानले फुटबलमा कुनै भेदभाव नभएको बताउँदै फुटबल विकासका लागि आफू जहाँ पनि जान तयार भएको बताए । 'फुटबल सबैका लागि हो, यसमा धनी र गरिब छुट्याएको हुँदैन,' जिदानले भने, 'यतिवेला मध्यपूर्व एसियामा विश्वकपको आवश्यकता छ, यहाँ बसोबास गर्ने युवा पिँढीका खेलाडीहरू विश्वकप आयोजना भएको हेर्न चाहन्छन्, म पनि उनीहरूको समर्थक गर्न आएको हुँ ।'

No comments: