News

Sep 17, 2010

तामाङसालीङ राज्यको जनजागरण अभियान घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/डीबी आङ्बुङ
३१ भाद्र २०६७,तामाङसालीङ स्वायत्त राज्य स्थापनाको लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध तामाङसालीङ स्वायत्त राज्य परिषदले भाद्र ३१/सेप्टेम्बर १६ गते काठमाडौंको संवैधानिक संवाद केन्द्र नयाँवानेश्वरमा एक कार्यक्रमको आयोजना गरी तामाङसालीङ क्षेत्रभित्र साचालन गरिने आगामी कार्यदिशासहितको जनजागरण अभियानको घोषणा गरेको छ ।तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी के बुद्धिष्ट तामाङको अध्यक्षता भएको सो कार्यक्रमको प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारी अध्यक्ष तथा संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक' रहेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष कमानसिङ लामा, तामाङ ह्युल परिषदका अध्यक्ष देवकुमार मोक्तान, नेपाल राष्ट्रिय घेतुङका अध्यक्ष वीरबहादुर योञ्जन, संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफे राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिम, खम्बुवान स्वायत्त राज्य परिषदका उपाध्यक्ष किरण खम्बू, संघीय लिम्बुवान महिला परिषदका महासचिव अमृता थेबे र संघीय लिम्बुवान राज्य परिषद उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङ्गेनहाङ रहेका थिए । प्रमुख अतिथि कुमार लिङदेन 'मिराक'द्वारा भगवान बुद्धको तस्वीरसामु द्वीप प्रज्वलन गरेर उद्घाटन गरिएको उक्त कार्यक्रमका अतिथिहरुलाई खादा ओडाएर स्वागत गरिएको थियो भने परिषदका महासचिव खेमकर्मा लामाले स्वागत मन्यव्यमार्फत सबै सहभागीहरुलाई स्वागत गरेका थिए । महासचिव लामाले स्वागत गर्दै तामाङसालीको आन्दोलन उठान र राज्य प्राप्तिको लागि तामाङसालीङमा रहेका सबै राजनीतिक जातीय र सामाजिक संघसंस्थाहरुबीच संयुक्त मोर्चा बनाएर जान आवश्यक रहेको बताउनु बताए । जनजागरण्को अभियानको घोषणा गर्दै परिषदका उपाध्यक्ष सिङमान तामाङ 'ख्युङबा'ले तामाङसालीङ राज्यको ऐतिहासिक पृष्ठभूमि; संघात्मक शासनव्यवस्थाको अपरिहार्यता; प्रस्तावित राज्यको पुनर्संरचनामा तामाङसालीङ राज्यको नाम तोडमोड गरी सिमाना मिचिएको बारे आपत्ति; तामाङसालीङ स्वायत्त राज्यको शासकीय संरचना; जनजागरण अभियान साचालन गर्नुको उद्देश्य र तामाङसालीङ आन्दोलनको आगामी कार्यदिशा बारे प्रकाश पार्नुभयो । घोषित कार्यक्रमअनुसार राज्य परिषद्अन्तर्गतको जिल्ला संगठनहरुमा पुनर्गठन गाविस र वडासम्म संगठन विस्तार गरी प्रशिक्षण कार्यक्रमहरु साचालन गर्ने; तामाङसालीङवासीहरुको टोल-टोलमा तामाङसालीङ स्वायत्तता एकात्मकवादीहरुको षडयन्त्र हामी संघीयवादीहरुको तयारी र नयाँ संविधानबारे अन्तक्रिया कार्यक्रमको अभियान सञ्चालन गर्ने; तामाङसालीङ भूमिभित्र भित्तेलेखन सवारी साधन स्कुल-कलेज र बाटो आदि सबैमा नाराहरु लेख्ने; नयाँ संविधान नबनेसम्म तामाङसालीङ स्वायत्त राज्य परिषद्को आव्हानमा ५ बुँदे सम्झौताको कार्यान्वयनका लागि दवावमूलक कार्यक्रमहरु सञ्चालन गरिरहने; तामाङसालीङ स्वायत्त राज्यभित्रको १० वटा जिल्लाहरुमध्ये आवश्यकताअनुसारको जिल्लाहरुमा राज्यपरिषद्को बैठकद्वारा आमसभाको कार्यक्रमहरु गर्नेलगायतका अभियानका कार्यक्रमहरु रहेका छन् ।कार्यक्रममा शुभकामना मन्तव्यका साथ सल्लाह-सुझावहरु दिनेक्रममा अतिथि तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष कमानसिङ लामाले हामी यतिखेरमात्र जनजागरण अभियान कार्यक्रम गर्द्रैछौं यदि जेठ १४ मै संविधान घोषणा गरेको भए के हुन्थ्यो भनेर प्रतिप्रश्न गर्नुभयो । लामाले थपे, संविधान निर्माणका साथै अब आउने नयाँ परिस्थितिका लागि समेत जागरणको अभियान चलाउनु पर्ने आवश्यकता रहेको बताउनु भयो । मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद उपत्यका समितिका अध्यक्ष शिवकुमार पाङगेनहाङले अतिथि वक्ताको रुपमा बोल्दै लिम्बुवान सञ्चालन गरिएको जागरण अभियान 'मिसन डीएस र जेएमएस' का अनुभवहरु शेयर गर्नुभयो । संघीय लिम्बुवान महिला परिषदका महासचिव अमृता थेबेले तामाङसालीङका तामाङ महिलाहरु नेपालका सबैभन्दा बढी बेचिने महिलाको सूचीमा रहेकाले यसको विरुद्धमा पनि यही जनजागरण अभियानसँगै लाग्नुपर्ने सुझाउनु भयो । त्यसैगरी, खम्बुवान स्वायत्त राज्य परिषदका उपाध्यक्ष किरण खम्बूले नेपालमा जातीय मुक्ति आन्दोलनको आवश्यकता र यसका लागि सबै राज्य परिषद र जातिहरुको सहकार्य आवश्यक भएको औल्याउनु भयो । तमाङ ह्युल परिषदका अध्यक्ष देवकुमार मोक्तानले संविधान नबने अब नेपालका आदिवासी जनजातिहरुले विद्रोह गर्नुपर्ने बताउनु भयो । त्यसैगरी अर्का अतिथि नेपाल राष्ट्रिय घेदुङका अध्यक्ष वीरबहादुर योञ्जनले सो राजनीतिक जागरण अभियानसँगै तामाङसालीङमा धार्मिक, साँस्कृति र आर्थिक जागरण पनि ल्याउन सकोस् भनी शुभकामना दिनुभयो । साथै वहाँले राज्यको नाम पनि तामाङसालीङ नै हुनुपर्नेमा जोड दिनुभयो । अतिथि बक्ता लिम्बुवानका महासचिव सूर्य माखिमले आदिवासी जनजातिको राजनीतिक तथा सामाजिक आन्दोलनमा मुलतः तीन खालका समस्याहरु आउने कुरामा सजग गराउनु भयो । ती समस्यामा पहिलो आन्दोलनको उठान हुँदाहुँदै एकात्मकवादीहरुले तुहाईदिन कोसिस गर्ने; दोस्रो, तुहाउन नसके वैचारिक आक्रमण गर्ने र त्यसलाई पार गरेर जाँदा तेस्रो तहमा पुगेर ती सबै आन्दोलनको जस र नेतृत्व एकात्मकवादीहरु आफै लिन खोज्ने र हामीलाई पाखा लगाउने षडयन्त्र गरिरहने हुनाले यसप्रति हामी सदैव सजग र सचेत हुनुपर्ने सुझाव दिनुभयो । अर्का अतिथि बक्ता संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव खगेन्द्र माखिमले जनजागरण अभियानको क्रममा तामाङसालीङका नेता तथा कार्यकर्ताहरुले चिर्दै जानुपर्ने भ्रमहरुबारे चर्चा गर्नुभयो । यसक्रममा माखिमले भने- तामाङसालीङ मञ्चको भातृ सङ्गठन हो भन्ने भ्रम छ, त्यो होइन; हामी केन्द्रीकृत राज्य व्यवस्थालाई भत्काएर पहिचानसहितको स्वायत्ततामा जान चाहेकोले विचार र प्रशिक्षणलाई प्राथमिकता दिनुपर्ने सल्लाह दिनुभयो । यहीक्रममा संघीय महिला मञ्चका अध्यक्ष विष्णु तुम्बाहाङफे राईले एकात्मक संरचना र सोचका पार्टीहरुले महिलाहरुलाई कहिल्यै ठाउँ नदिने हुनाले साँच्चिकै महिला मुक्ति चाहने महिलाहरु यो नयाँ सोच र संरचनाको आन्दोलनमा समाहित हुनुपर्ने विचार राख्नुभयो ।यसै कार्यक्रममा प्रमुख अतिथि कुमार लिङदेनले अब यी एकात्मकवादीहरुले संविधान नबनाउने र संविधान सभा भङ्ग गर्ने निश्चित भएकोले त्यो परिस्थितिलाई समाना गर्न सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मरिपेक्षतावादी शक्तिहरु चाडै एकजुट भई मोर्चाबन्दी गरेर वारपारको आन्दोलनका लागि तयारी हुनुपर्ने बताए । साथै, लिङदेनले संघीय मञ्चमा धेरै सम्भावनाहरु भएकोले आफ्नै गलत मान्छेहरुबाट पनि निरन्तर आक्रमण भइरहेको खुलासा गरे । लिङदेनले तामाङसालीङवासीहरुलाई कुनै समस्या परे लिम्बुवानदेखि खम्बुवानसम्मले सहयोग गर्ने आश्वासन दिँदै सो जनजागरण अभियानलाई हलहालतमा सफल पार्न शुभकामन दिनुभयो ।अन्तमा, कार्यक्रमको विसर्जन गर्दै अध्यक्ष डीके बुद्धिष्टले तामाङसालीङको राजनीतिक आर्थिक सम्भावना बारे चर्चा गर्नुभयो । कार्यक्रममका उपाध्यक्ष ई. पेम्बा लामाले सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई धन्यवाद दिँदै कार्यक्रम सार्थक भएको बताए । तामाङसालीङका महिला विभाग प्रमुख बुद्धश्री लामाबाट सञ्चालन गरिएको उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुलाई तामाङसालीङ जनजागरणको अपील वितरण गरिएको यियो ।

No comments: