News

Sep 29, 2010

११ दलको काँग्रेसलाई उम्मेदवारी फिर्ता लिन आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन १३ - माओवादी, एमालेसहित ११ दलको संयुक्त बैठकले काँग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । बुधबार बिहान माओवादी संसदीय दलको कार्यालयमा भएको बैठकले राष्ट्रिय सहमतिका लागि पहिलो बिकल्पको रुपमा काँग्रेसलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको हो । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार काँग्रेसले उम्मेदवारी फिर्ता लिन नमाने सभामुखलाई बाधा अड्काउ फुकाउनका लागि आग्रह गर्ने र त्यसले पनि काम नगरे संसदको नियमावली संशोधनको प्रकृयामा जाने निर्णय भएको छ । 'खेल भत्किएको छ, त्यसलाई सही दिशामा ल्याउनका लागि काँग्रेस तयार नभए सभामुखलाई आग्रह गर्ने हो, त्यो पनि भएन भने नियम परिवर्तनको प्रकृयामा प्रवेश गर्ने छ' उनले संवाददाताहरुसंग भने । सातौं चरणको निर्वाचनबाट पनि प्रधानमन्त्री छान्न नसकेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले गत १० गते आठौं चरणको निर्वाचन अघि उम्मेदवारी फिर्ता लिएका थिए । त्यसपछि काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल एक्लै प्रधानमन्त्रीका उम्मेदवार छन् ।

No comments: