News

Sep 28, 2010

राष्ट्र बैंकले सुनचाँदी बेच्न थाल्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
असोज १२- नेपाल राष्ट्र बैंकले मंगलबारदेखि सुनचाँदी बेच्न थालेको छ। देशको केन्द्रीय बैंकले व्यवसायीलाई दैनिक १ सय किलो सुन र एक हजार किलो चाँदी बेच्ने जनाएको छ। बजारमा अत्यधिक रूपमा कालो बजारी भएको भन्दै त्यसलाई रोक्न राष्ट्र बैंक आफैँले सुन बेच्न थालेको हो। नेपाल राष्ट्र बैंकका प्रवक्ता गोपाल काफ्लेका अनुसार सुनचाँदी व्यवसायीसँग भएको छलफलपछि आजदेखि बोलकबोलमा सुन बेच्ने सहमति भएको हो।
नेपाल सुनचाँदी व्यवसायी सङ्घ, सुनचाँदी व्यवसायमा संलग्न अन्य तीन व्यवसायी सङ्घ र नेपाल हस्तकला महासङ्घको सिफारिसमा आएका सुन व्यवसायीलाई मात्र सुन बेच्ने निर्णय गत मङ्गलबार बसेको बैठकले गरेको प्रवक्ता काफ्लेले जानकारी दिए। आज बैंकले सवा १२ बजे अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यअनुरूप सुनमा प्रति १० ग्राम एक हजार र चाँदीमा प्रतिकिलो दुई हजार ४ सय थप गरी सुनको न्युनतम मूल्य निर्धारण गरेको छ। अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य एकहजार २००- ५७ प्रति औँस छ। आज २ बजेदेखि तीन बजेसम्म बोलकबोल गर्न पाइने छ र बोलकबोलबाट प्राप्त भएको सबैभन्दा बढी मूल्य नै सुन बेच्नका लागि तोकिने मूल्य हुनेछ।
पचहत्तर किलो सुन बोलकबोलबाट बेचिने छ भने- बाँकी २५ किलो सुन भने बोलकबोल नगर्ने व्यवसायीलाई बेचिने राष्ट्रबैंकले जनाएको छ। बोलकबोलमा सामेल नहुने व्यवसायीले बैंकले तोकेकै दरमा सुन खरिद गर्नुपर्ने छ। उनीहरूलाई बोलकबोलमा सामेल हुने व्यवसायीलाई भन्दा बढी रकम परेमा पनि राष्ट्र बैंकसँग गुनासो गर्न नपाइने प्रावधान रहेको छ। बैंकले आजदेखि प्रत्येक मङ्गलबार सुन बेच्ने गर्दछ भने- सुन बेच्नका लागि प्रत्येकहप्ता बोलकबोल गर्ने प्रावधान राखेको छ।
राष्ट्र बैंकसँग अहिले एक हजार किलो सुन जगेडा रहेको र त्यसले करिब १० हप्तासम्म पुग्ने अनुमान गरिएकाले केही समय बैंक आफैँले सुन बेच्ने प्रवक्ता काफ्लेले जानकारी दिए। छ महिनाअघि अध्यादेशमार्फत सुनचाँदी आयातमा बढाएको भन्सार दर गत भदौ १८ गते सकिएपछि सरकारले सुन आयातमा नै प्रतिबन्ध लगाएको थियो।सो अध्यादेश पारित नभएका कारण बजारमा कालोबजारी बढिरहेकाले सरकारले नेपाल राष्ट्र बैंकले आफ्नो मौज्दातबाट सुन बेच्नका लागि निर्देशन करिब दुई हप्ताअघि दिएको थियो। तर तोकेको समयमा बैंकले सुन बेच्न सकेको थिएन।
बैंकले सुनचाँदी किन्न आउने मानिस सुनचाँदी व्यवसायी हुनकी होइन भनेर पत्तालगाउने जिम्मा ती चार सङ्घलाई दिएकाले गैर सुनचाँदी व्यवसायीले मात्र राष्ट्र बैंकले दिएको सुन किन्न पाउने भएका छन्। यसले साच्चैका सुन व्यवसायीलाई मर्का नपर्ने सुन व्यवसायी बताउँछन्।

No comments: