News

Sep 20, 2010

२१ नेपाली कामदार कतारमा अलपत्र

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
३ असोज,महाराजगन्जस्थित एसओएस म्यानपावरबाट रोजगारीका लागि पुर्‍याइएका २१ नेपाली कामदार कतारमा एक महिनादेखि अलपत्र परेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजु सो म्यानपावर कम्पनीका सञ्चालक हुन् । अगस्ट १ मा १४ जना र २ तारिखमा ७ जना नेपाली कामदारलाई काठमाडौंबाट कतार पुर्‍याइएको थियो । दोहास्थित नेपाली दूतावासका अनुसार, १४ जनालाई श्रम स्वीकृतिको स्टिकर नम्बर ०६२७२० देखि ०६२७३३ र ७ जनालाई श्रम स्वीकृतीको स्टिकर नम्बर ०६२९८१ देखि ०६२९८७ बाट कतार पुर्‍याइएको थियो ।
नेपालबाट कुन कम्पनीमा लैजाने भन्ने जानकारीसमेत नदिई अर्कै कम्पनीमा पुर्‍याइएपछि उनीहरू हाल दोहास्थित नेपाली दूतावासको शरणमा आएका छन् । त्यसबारे जानकारी गराउँदै हालै दूतावासले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई पत्राचार गरी जानकारी गराएको छ । 'कामदारहरू शरणमा रहेको दूतावासले जानकारी गराएको थियो,' परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले नयाँ पत्रिकासँग भने, 'श्रम मन्त्रालयलाई जानकारी गराइसकिएको छ ।'
उता श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले कतारमा नेपाली कामदार अलपत्र परेको जानकारी आएको भन्दै त्यसका लागि वैदेशिक रोजगार विभागलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकिएको बताए । 'दोहास्थित नेपाली दूतावाससँग हामी निरन्तर सम्पर्कमा छौँ,' उनले भने, 'कामदारको अवस्थाबारे जानकार छौँ, वैदेशिक रोजगार विभागलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेका छौँ ।'

No comments: