News

Sep 18, 2010

बैंकबाट निकालेको हजारका नक्कली नोट फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, असोज २ - सुर्खेतको रारा विकास बैंकबाट निकालेको रकममा हजार रुपैयाँ दरका तीन नक्कली नोट फेला परेका छन्। स्थानीय गोविन्द चपाईंले झिकेको चार लाख रुपैयाँमा हजारका तीनवटा नक्कली नोट भेटिएका हुन्। राराबाट साटेर बैंक अफ काठमान्डूमा जम्मा गर्ने क्रममा त्यहाँका कर्मचारीले नक्कली नोट पत्ता लगाएका थिए। बैंक अफ काठमान्डूका कर्मचारीले नक्कली भन्नेबित्तिकै चपाईं रारामा गएका थिए। तर, राराका कर्मचारीले गड्डी खोलिसकेको भन्दै फर्काएका थिए। 'राराबाट झिकेको पाँच मिनेटमै बैंक अफ काठमान्डूले नक्कली भन्यो,' चपाईंले भने, 'मेरो तीन हजार त्यत्तिकै खेर गयो।' बैंक अफ काठमान्डूले बिहीबारै ती नोट नेपालगन्ज कार्यालय पठाएको छ। नक्कली नोटमध्ये दुइटाको एउटै नम्बर ख ३२/३८३००९ छ। अर्को एउटा नोटको नम्बर ख ४०/९५७६९९ छ। नोट फुस्रा छन्। बैंक अफ काठमान्डूका एक कर्मचारीले जम्मा गर्न दिइएको रकम गन्ने क्रममा नक्कली नोट पहिचान भएको बताए। चपाईंले राराबाट हजार दरका तीन गड्डी, सय दरका पाँच गड्डी र बाँकी पाँच सय दरका नोट लगेका थिए। नक्कली नोट हजारको एउटै गड्डीमा भेटिएका थिए। रारा विकास बैंकले भने उक्त रकम नेपाल बैंक लिमिटेडबाट लगेको जनाएको छ।

No comments: