News

Sep 15, 2010

अनमिनको भविष्यलाई लिएर मत विभाजित राष्टसंघमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यूयोर्क, भाद्र ३० - संयुक्त राष्टसंघको सुरक्षा परिषद्का सदस्य मुलुकबीच अनमिनको भविष्यलाई लिएर मत विभाजित भएको छ । अनमिनको भविष्यबारे बुधवार अन्तिम निर्णय लिनुपूर्व भएका विभिन्न चरणका छलफलमा उनीहरुबीच चार महिना म्याद थप्ने वा 'टेक्निकल रोलओभर' गर्ने भन्नेमा फरक मत देखिएको हो । सरकार र माओवादीले पठाएको पत्रको आधारमा ४ महिना म्याद थप्ने वा फलदायी छलफलका लागि एक महिना प्राविधिक रुपमा म्याद बढाउने अर्थात् 'टेक्निकल रोलओभर' गर्ने भन्ने दुई मुख्य विकल्पलाई लिएर छलफल भएको थियो । न्यूयोर्कमा कार्यरत वरिष्ठ अनुसन्धानकर्ताहरुको एउटा समूहले नेपालसम्बन्धमा परिषद्का मुलुकहरुले गरिरहेको छलफलबारे विशेष रुपमा उपलब्ध गराएको प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।
यसका साथै मिसन बन्द गर्दा नेपालको शान्ति र स्थायित्वमा नकरात्मक प्रभाव नपर्ने सुनिश्चितता कसरी गर्ने भन्ने विषयलाई पनि उनीहरुले प्राथमिकता दिएका छन् । राष्टसंघको १५ सदस्यीय शक्तिशाली सुरक्षा परिषदमा अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस स्थायी तथा अष्ट्रिया, बोस्नियाहर्जगोभिना, ब्राजिल, गेबोन, जापान, लेबनन, मेक्सिको, नाइजेरिया, टर्की र युगाण्डा अस्थायी सदस्य छन् । अनमिनको भविष्यबारे अन्तिम निर्णय गर्न बोलाइएको सुरक्षा परिषद्को बैठक नेपाली समयअनुसार बुधवार राति पौने ८ बजे शुरु हुनेछ ।

No comments: