News

Sep 26, 2010

इलामका केही गाविसबाट रेडपान्डाको खुलेआम तस्करी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, ९ असोज,विश्वमै लोपोन्मुख रेडपान्डाको संरक्षण गर्न २० वर्षे परियोजना सञ्चालन भइरहेका वेला इलामका केही गाविसबाट रेडपान्डाको खुलेआम तस्करी भइरहेको पाइएको छ । जिल्लाको सोयाङ र नयाँबजार गाविसबाट रेडपान्डा तस्करी भइरहेको हो । सोयाङको लेकाली गाउँबाट भर्खरै मात्र एउटा रेडपान्डा बिक्री गरिएको खुलासा भएको छ । जंगलमा भेटिएको रेडपान्डालाई घरमा ल्याएर राखिएपछि स्थानीयबीच कसले बेच्ने भन्ने विषयमा विवाद भएको थियो । विवादपछि स्थानीय एक व्यक्तिले घरमा राख्न भन्दै लगेको रेडपान्डा रातारात हराएको बताइयो । 'हराएको बहाना बनाइयो, तर त्यो रेडपान्डा बेचेको थाहा भयो,' एक स्थानीयले नाम नखुलाउने सर्तमा भने 'पहिले पनि यहाँबाट रेडपान्डा बेचिएको हामीलाई थाहा छ ।' यसअघि पनि सोयाङ गाविसमा रेडपान्डा भेटिएको र रातारात हराएको स्थानीयले जानकारी दिएका छन् । यहाँ कहिलेकाहीँ रेडपान्डा फेलापरे पनि कति संख्यामा आउने र बिक्री हुने गरेका छन् भन्ने खुलेको छैन । 'रेडपान्डा आयो र हरायो भनेको सुनिन्छ, तर कसले कहाँ लग्यो थाहा हुँदैन,' एक स्थानीयवासीले भने । एक वर्षअघि नयाँबजारको शंखाबुङस्थित एउटा गुम्बामा रहेको रेडपान्डा पनि राति हराएको थियो । केही समयपछि बेचिएको भन्ने चर्चा सुनिए पनि अहिलेसम्म त्यो रेडपान्डा भेटिएको छैन ।

No comments: