News

Sep 17, 2010

धुवाँ, धुलो र पानीमा समेत चलाउने ल्यापटप नेपालमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३०,मिनरल वाटरको वोतलले ल्यापटपको किवोर्डमा पानी खन्याउँदा धेरैको मन झसँग हुनसक्छ। विद्युतीय उपकरणमा पानी हालेपछि के होला? बल्लबल्ल किने ल्यापटप 'सट' भएर बिग्रने त होइन। पीर पर्नु स्वभाविक हो। मंगलबार भने दुई मोडलले धमाधम ल्यापटपमा पानी पोखे। धोए र पखाले। तर, ल्यापटप केही भएन। उनीहरुले धोइपखाली गरेको ल्यापटप 'वाटरप्रुफ' र 'डस्टप्रुफ' हो। कार्यालयको कामको सिलसिलामा धुवाँ, धुलो र पानीमा समेत खट्नुपर्ने व्यक्तिलाई लक्ष्य गरेर एनइसीले नयाँ ल्यापटप नेपालमा ल्याएको छ। एनइसीको आधिकारिक बिक्रेता इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न (आइइसी) ले जस्तोसुकै प्रतिकुल मौसम र ठाउँमा चलाउन सकिने सिल्डप्रो एन-२२ ल्यापटपलाई मंगलबारदेखि नेपालमा बिक्री सुरु गरेको हो। यो ल्यापटपको मूल्य कम्तिमा चार लाख रुपैयाँ पर्छ। एनइसी जापानी इलेक्ट्रोनिक्स निर्माता कम्पनी हो। र्‍याम, हार्डडिस्कले यसको मूल्य कम र बढी छ। यस्तो ल्यापटपको मूल्य नेपालमै पाँच लाखसम्म पर्ने कम्पनीले जनाएको छ। 'कार्यालयभन्दा बाहिर फिल्डमा खटिने व्यक्तिका लागि डिजाइन गरेर यो ल्यापटप बनाइएको हो,' आइइसीका प्रबन्ध निर्देशक अरुणराज श्रेष्ठले भने। सेना, दूरसञ्चार, निर्माण क्षेत्र, जलविद्युत र आकस्मिक सेवाको लागि यो ल्यापटप उपयोगी हुने उनले बताए। जस्तोसुकै धुलो, धुवाँ, पानीमात्र नभएर हिउँमा समेत यो ल्यापटप प्रयोग गर्न सकिन्छ। १५ हजार फिटसम्मको उचाइमा पनि यो ल्यापटप चलाउन सकिन्छ। यो ल्यापटपलाई माइनस २० डिग्रीदेखि ५० डिग्री सेल्सियस तापक्रम हुने ठाउँमा समेत चलाउन सकिन्छ। ल्यापटपमा हिउँ, पानीजस्ता जुनसुकै तरल पदार्थ पर्दासमेत कुनै असर नपर्ने गरी बनाइएको छ। अरु ल्यापटपजस्तो सामान्य ठक्करले समेत नबिग्रनेगरी बनाइनुका साथै सामान्य रुपमा खस्दासमेत नबिग्रने गरी तयार गरिएको छ। 'असामान्य अवस्था, ठाउँमा समेत सजिलोसँग चलाउन सक्ने गरी बनाइएको हुँदा अरु भन्दा केही महँगो भएको हो,' उनले भने। दैनिक प्रयोगको लागि भन्दा पनि व्यावसायिक प्रयोजनको लागि दुर्गम ठाउँमा चलाउने गरी यसको डिजाइन भएको छ। यो ल्यापटप प्रयोगकर्ताको फिङ्गर प्रिन्ट (औंठाछाप) को आधारमा खोल्न सकिन्छ। १२ दशमलव १ इन्चको टिएफटी एलसिडी स्त्रि्कन, वायरलेस, ब्लुटुथलगायत विशेषता यसमा छन्। इन्टेलको कोर टु डियो प्रोसेसरजडित यो ल्यापटपको र्‍याम १ देखि २ जिबीसम्म छ। तुलनात्मक रुपमा हार्डडिस्कको क्षमता भने यसमा सानो छ। अहिले नेपालमा ३२ देखि ८० जिबीसम्मको हार्डडिस्क क्षमतामा एनइसीले यो ल्यापटप उपलब्ध गराउने भएको छ। कम्तिमा ८ देखि १२ घन्टासम्म टिक्ने ब्याट्री रहेको यो ल्यापटपलाई कम्पनीले यो वर्ष ४० वटासम्म बेच्ने लक्ष्य लिएको छ। 'हामीले धेरै अध्ययन गर्‍यौं, दुर्गम ठाउँमा काम गर्नेलाई उपयुक्त ल्यापटपको माग देखेर यहाँ ल्याएका हौं,' श्रेष्ठले भने। एनइसी ल्यापटपको तौल भने अरु सामान्यको जस्तै साढे दुई किलोमात्र छ। एनइसीले मंगलबारै नेपालमा एक्सप्रेस क्लस्टर एक्स ३.० सिरिजको सफ्टवयर ल्याएको छ। आतंकवाद र दैवी प्रकोपको समयमा हुने सूचनाको नोक्सानीलाई यसले रोक्नेछ। 'एसियामा समय समयमा विपत्तिहरु भइरहने हुँदा यस्ता सफ्टवयरले सम्भावित हानी नोक्सानीलाई नियन्त्रण गर्नेछ,' एनइसी एसियाका क्षेत्रीय निर्देशक डेभिड ओइले भने।बैंकिङ क्षेत्रमा सूचना प्रविधिको सबैभन्दा जोखिम रहेकोले त्यसलाई समेत हुन नदिन यो सफ्टवयरले काम गर्छ। एनइसीले दूरसञ्चार कम्पनीहरु, कर्पोरेट कार्यालय, डाटा सेन्टरमा हुने सिस्टम फेलिएरलाई पत्ता लगाउन 'मास्टर स्कोप इनभ्यारियन्ट एनालाइजर' लाई पनि नेपालमा ल्याएको छ।

No comments: