News

Sep 26, 2010

दिलबहादुर मुद्दा हङकङको उच्च अदालतमा

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ,
आश्विन १० - प्रहरीको गोलीबाट गतवर्ष मारिएका नेपाली युवक दिलबहादुर लिम्बूसम्बन्धी मुद्दा उच्च अदालतमा पुगेको छ । गत मे महिनामा भएको सुनवाइमा यहाँस्थित कोरोनर्स कोर्ट (छानबिनसम्बन्धी अदालत) ले लिम्बूको हत्यालाई कानुनसम्मत भएको फैसला सुनाएको थियो । मृतककी श्रीमती सोनी लिम्बूले यसप्रति असन्तुष्टि जनाउँदै उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । 'कोरोनर्स कोर्टले गरेका एकतर्फी फैसलाका विरुद्ध उच्च अदालतबाट न्याय पाउने आशा गरेकी छु,' सोनीले कान्तिपुरसँग भनिन्, 'सरकार पक्षले सुरुदेखि नै जालझेल गरेर मुद्दा आफ्नो पक्षमा पारेको हो ।' कुनै बेला यसै देशका सुरक्षार्थ खटिएका सैनिक बाबुका छोरा बिनाकारण मारिँदा न्याय दिनुका सट्टा सरकारले निर्दोषलाई दोषी देखाएको उनको आरोप छ । मृतकका पक्षबाट वकालत गरिरहेका बेलायती मूलका वकिल माइकल भिडलरले समेत उच्च अदालतले न्याय दिनेमा आशावादी रहेको बताए । न्यायिक समीक्षाका लागि गरिएको पुनरावेदन बहस डिसेम्बरबाट सुरु हुने मृतकका आफन्त त्रिबल लिम्बूले बताए । पुनरावेदनसम्बन्धी आवेदनमा कोरोनर्स कोर्टले अनुसन्धानको दायरालाई सीमित पारिएको लगायत महत्त्वपूर्ण प्रमाणलाई बेवास्ता गर्दै पक्षपातपूर्ण फैसला सुनाइएको जिकिर गरिएको छ ।

No comments: