News

Sep 24, 2010

ताप्लिजोङमा विशाल लिम्बुवानी आमसभा सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तेल्लोक ताप्लिजोङ,महान लिम्बुवानी विभूति सिरिजङ्गको जन्मस्थल ताप्लिजोङको तेल्लोकमा यही असोज ४ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेण्टियर्स एलभीं याङ्वरकथुम कमाण्डको आयोजनामा विशाल लिम्बुवान आमसभा तथा एलभी प्रदर्शनी कार्यक्रम सम्पन्न भयो ।
उक्त लिम्बुवानी आमसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तथा माचसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन 'मिराक'ले भने- "आजभन्दा तीनसय वर्षअघि यही तेल्लोकमा जन्मेका महान लिम्बुवानी विभूति सिरिजङ्गाको सपनाअनुसार नै अहिलेको लिम्बुवान आन्दोलन अघि बढिरहेको छ । तीनसय वर्षअघि नै उनै सिरिजङ्गाले लिम्बुवानको मुन्धुम, भाषा र लिपिको रक्षाको लागि हाँसी-हाँसी आफ्नो ज्यान वलिदान गरेका थिए । तर, आजको एक्काइशौं शताब्दीमा पनि केही लिम्बूहरु नै लिम्बुवानको लागि लागिपर्न हिच्किचाइरहेका छन्, त्यो एकात्मक दासत्वको उदाहरण हो । अहिलेका युवापुस्ताले लिम्बुवानमाथि र यहाँका जनताको दिमागमा जबर्जस्त थोपरिएको एकात्मक दासताको साङ्लोलाई कुनै हालतमा चुडाएरै छाड्नेछन् र सिरिजङ्गाको सपना पूरा गरेरै छाड्नेछन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालअन्तर्गत अरुण-सप्तकोशीपूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन सम्पूर्ण लिम्बुवानवासी जनताहरु एकतावद्ध भई आन्दोलनमा लामवद्ध हुनैपर्दछ । विशेषगरी लिम्बुवानी युवा विद्यार्थी र एलभीहरु जुर्मुराएर उठ्नैपर्दछ ।"
यसैगरी, उक्त आमसभालाई सम्बोधन गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका सचिवालयस सदस्य दॆउबहादुर खुदाङ, केन्द्रीय सदस्य तथा ताप्लिजोङ इञ्चार्ज कृतिमान मादेन, ताप्लिजोङ जिल्ला अध्यक्ष होम तुम्बाहाङ्फे, जिल्ला सचिव रणध्वोज ताम्लिङ, महिला परिषद उपाध्यक्ष इन्दिरा मेन्याङ्बो, विद्यार्थी केन्द्रीय सचिव दिनेश तुम्बापो, युवा मञ्च पान्थर अध्यक्ष सुनिल लिम्बू, एलभी सिनियर उपकमाण्डर मुक्साम लाबुङलगायतले लिम्बुवान प्राप्तिको आन्दोलनलाई अघि बढाउन जस्तोसुकै वलिदान दिन तयार रहेको र हुनुपर्ने विचार व्यक्त गरेको थिए ।
उक्त आमसभा याङ्वरक थुम् एलभी सिनियर उपकमाण्डर विकल्प लिङ्देनको अध्यक्षतामा सम्पन्न भएको थियो भने परिषदका याङ्वरकथुम सचिव भूपेन्द्र माबोले स्वागत मन्तव्य र एलभी सिनियर सिभिल कमाण्डर ज्वलन माङ्मूले कार्यक्रमको उद्घोषण गरेका थिए । यस कार्यक्रममा सयौं एलभीहरुको प्रदर्शन र संघीय लिम्बुवान कलाकार परिषदको तर्फबाट आकर्षक साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुग गरिएको थियो ।

No comments: