News

Aug 22, 2011

सरकारी ढुकुटीमा अहिले ५ हजार किलो सुन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ५ - सुनको मूल्य बढेर उपभोक्ता मारमा परे पनि सरकारको सम्पत्ति भने बढ्दै गएको छ । सरकारसँग रहेको सुनको मूल्य एक वर्षमै करिब ७ अर्ब रुपैयाँले बढेको छ । सरकारी ढुकुटीमा अहिले ५ हजार किलो सुन छ । पछिल्लो एक वर्षमा सुनको औसत मूल्य (प्रतिदस ग्राम) १४ हजार रुपैयाँले बढेको छ । गत वर्ष यही बेला ३० हजार ९ सय (प्रतिदस ग्राम) रहेको सुन आइतबार ४४ हजार ९ सय २५ रुपैयाँ पुगेको छ । हालको मूल्यअनुसार सरकारसँग करिब २२ अर्ब रुपैयाँको सुन छ । '५ हजार किलोभन्दा बढी सुनमध्ये केही अंश विदेशमा लगानी गरिएको छ,' राष्ट्र बैंक उच्च स्रोतले भन्यो, 'ठूलो मात्रा भने ढुकुटीमै छ ।' सरकारले यस्तो सुन विभिन्न प्रयोजनका लागि प्रयोग गर्ने गर्छ । तर पछिल्ला वर्ष अधिकांश सुन ढुकुटीमै सम्पत्तिका रूपमा रहेको छ । डलर कमजोर हुँदै गएपछि अर्थतन्त्रमा असर पर्न नदिन विश्वका शक्तिशाली मुलुकले सुन खरिद गर्ने गर्छन् । यसले सुनको माग बढ्छ । अहिले विश्व बजारमा सुनको मूल्य अत्यधिक बढ्नुको प्रमुख कारण पनि यही हो । पछिल्लो समय अमेरिकाले ऋण लिन सक्ने दायरा फराकिलो बनाएपछि सुनको माग एकाएक बढेको हो । मुख्य रूपमा चीन र भारतमा यसको माग उच्च छ । सरकारले आफूसँग रहेको सुन विदेशमा लगानी गर्न र अन्तर्राष्ट्रिय मुद्रा कोषमा जम्मा गर्न प्रयोग गर्छ ।
यसबाहेक नोट छाप्न सुरक्षणका लागि पनि यसको प्रयोग गरिन्छ । कोषबाट कर्जा लिन विशेष अधिकार (स्पेसल ड्रइङ राइट) मा यसलाई जम्मा गर्ने गरिन्छ । तर नेपालले विदेशी मुद्रा मात्र कोषमा जम्मा गरेको छ । अर्कोतर्फ नोट छाप्दा सुरक्षणका रूपमा पनि नेपालले २०६३ पछि सुनको प्रयोग गरेको छैन ।
राष्ट्र बैंकको वाषिर्क प्रतिवेदनअनुसार उक्त वर्ष ७० करोड ३० लाख रुपैयाँ बराबरको सुन नोट सुरक्षणका लागि प्रयोग गरिएको थियो । यस्तो सुरक्षणको अन्य कुनै प्रयोग नगरी आफैंसँग राख्ने गर्नुपर्छ । विश्वमा सबैभन्दा बढी सुन अमेरिकासँग छ । वल्ड गोल्ड काउन्सिलका अनुसार अमेरिकासँग ८ हजार १ सय ३३ टन छ । ३ हजार ४ सय १ टन सुनसहित जर्मनी दोस्रो स्थानमा छ । विभिन्न मुलुकले सुन जम्मा गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषसँग २ हजार ८ सय १४ टन सुन छ । चीन १ हजार ५४ टनसहित छैटौं र भारत ५ सय ५७ टनसहित ११ औं स्थानमा रहेका छन् । नेपालमा जम्मा भएको सुनबारे भने काउन्सिलले कुनै तथ्यांक दिएको छैन ।

No comments: