News

Aug 20, 2011

मदन पुरस्कार झमककुमारी घिमिरेलाई प्रदान गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ३ (नागरिक)- यस पटकको मदन पुरस्कार साहित्यकार झमककुमारी घिमिरेलाई प्रदान गरिने भएको छ। 'जीवन : काँडा कि फूल' नामक आत्मकथात्मक कृतिका लागि उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको छ। जगदम्बा पुरस्कार भने नेपाल भाषाका साहित्यकार दुर्गालाल श्रेष्ठलाई दिइने भएको छ। झमककुमारी घिमिरेको जन्म सन् १९८० मा कचिडे, धनकुटामा भएको हो। उनी प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रतिमष्तिस्क रोगद्वारा पीडित छिन्। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने उनी सुन्न र बुझ्नचाहिँ सक्छिन। दुवै खुट्टाका ३ औंला मात्र चल्ने उनले त्यही ३ औंलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ बैनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकी हुन। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। केही पत्रिकामा उनका नियमित स्तम्भ पनि छापिन्छन्। झमकले प्रबल गोरखा दक्षिण बाहु चौथालगायत् दर्जनौँ पुरस्कार एवम् सम्मान प्राप्त गरेकी छिन्।
झमक घिमिरेद्वारा लेखिएका पुस्तक यसप्रकार छन्-
सङ्कल्प
आफ्नै चिता अग्निशिखातिर
मान्छेभित्रका योद्धाहरू
सम्झनाका बाछिट्टाहरू
झमक घिमिरेका कविताहरू
जीवन काँडा कि फूल
अवसानपछिको आगमन
क्वाँटी सङ्ग्रह
स्व. ज. मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो। गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू ४००० रहेकामा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,००० भएको छ।
२०१३ सालमा पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिरविद्युत् उत्पादक” का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेका थिए। २०३१ र २०३३ सालमा यो पुरस्कार कसैलाई प्रदान गरिएन।
रानी जगदम्बाको स्वर्गारोहणपछि निजको पुण्य स्मृतिमा गुठीले २०४५ सालमा स्थापना गरेको रू. १००,०००को पुरस्कार जगदम्बा श्री सोही सालबाट नै वितरण भएको हो र हाल यस पुरस्कारको रकम रू. २००,००० छ। २०४५ सालमा नारायणगोपाल गुरूवाचार्यले सर्वप्रथम यो पुरस्कार प्राप्त गरेका थिए।
मदन पुरस्कार एक वर्षभित्र नेपाली भाषामा निस्किएका उत्कृष्ट कृतिमध्ये एक कृतिलाई प्रदान गरिने पुरस्कार हो भने जगदम्बा श्री नेपाली भाषा, संस्कृति, साहित्यलगायतका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्या्उने व्यक्ति वा संस्थालाई प्रदान गरिने पुरस्कार हो।

No comments: