News

Aug 20, 2011

एपेकबाट पूर्वयुवराज पारसको नाम हटाइयो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/निर्मल श्रेष्ठ
हङकङ, भाद्र ३ - लुम्बिनी विकासका लागि तीन अर्ब अमेरिकी डलर सहयोग घोषणा गर्ने चिनियाँ संस्था एसिया प्यासिफिक एक्स्चेन्ज एन्ड कोअपरेसन फाउन्डेसन (एपेक) मा सहअध्यक्ष रहेका पूर्व युवराज पारस शाहको नाम हटाइएको छ । संस्थामा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसहित ९ सहअध्यक्ष थिए । फाउन्डेसनको आधिकारिक वेबसाइटमा उल्लेख भएका पदाधिकारीमा अहिले शाहको नाम भने छैन । उनको नाम किन हटाइयो भन्ने जानकारी समेत कतै उल्लेख छैन ।
संस्थाको आधिकारिता र विश्वनियताबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि शाहले नै आफ्नो नाम हटाउन लगाएको हुनसक्ने एक विश्लेषकले दाबी गरे । दुई विपरीत धारका माओवादी अध्यक्ष दाहाल र पूर्वयुवराज एउदै पदमा हुनुलाई विश्लेषकहरूले रहस्यमय बताउँदै आएका थिए । पूर्वयुवराजले आफू उक्त संस्थामा रहेको वा नरहेको भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । अघिल्लोपटक नेपाल भ्रमणका क्रममा फाउन्डेसनका उपाध्यक्ष जियाओ उनान लगायतको चिनियाँ टोलीले पूर्वयुवराज पारसलाई समेत भेटेको थियो । चिनियाँ टोलीले शाहसँग खिचाएको वेबसाइटमा उपलब्ध तस्बिरसमेत अहिले हटाइएको छ ।
हालै मलेसियामा आयोजित एपेकको बैठकमा सहभागी भएर नेपाल र्फकने क्रममा अध्यक्ष दाहाललाई पूर्वयुवराजको सदस्यताबारे पत्रकारहरूले राखेको जिज्ञासामा कसलाई राख्ने नराख्ने भन्ने जिम्मा संस्थाकै भएको बताएर उनी पन्छिएका थिए । फाउन्डेसनले शाहलाई आफ्नो वेबसाइटमा नेपालका युवराजकै रूपमा चिनाएको थियो । ज्ञानेन्द्र शाह पूर्वराजा भनिए पनि नेपालको संविधानअनुसार पारस राष्ट्र प्रमुख हुने लेखिएको थियो । दाहाललाई भने नेपालमा क्रान्तिकारी परिवर्तन ल्याउने ठूलो पार्टीको अध्यक्ष र विदेश भ्रमण चीनबाट सुरु गर्ने पहिलो नेपाली प्रधानमन्त्रीका रूपमा परिचय गराइएको छ । यसअघिका प्रधानमन्त्रीले पहिले भारत भ्रमण गर्ने परम्परा दाहालबाट तोडिएको समेत उल्लेख छ ।
फाउन्डेसनमा अब ८ सहअध्यक्ष मात्र छन् । अध्यक्ष दाहालसँगै संस्थामा कोलिन हेसल्टिन, ज्याक रोजेन, कोर्न डबरान्सी, लियोन चार्नी, राम्जी सन्बार, स्टीभन क्लार्क, चियोन हिउ किङ छन् । हालै लुम्बिनीको भ्रमणमा आएका कोलिन वरिष्ठ अस्ट्रेलियन कूटनीतिज्ञ र डबरान्सी थाइल्यान्डका पूर्वउपप्रधानमन्त्री हुन् । रोजेन, लियोन र क्लार्क अमेरिकी, हिउ किङ मलेसियाली र सन्बार बेलायती व्यवसायी हुन् । फाउन्डेसनमा उपाध्यक्ष जियाओ उनानबाहेक सबै गैरचिनियाँ छन् । एपेकले आफ्नो भनी उल्लेख गरेको टेलिफोन र फ्याक्स नम्बर हङकङ प्रहरी लाइसेन्स विभागको पुष्टि भएपछि बिहीबार हटाएको थियो ।

No comments: