News

Aug 27, 2011

डेढ वर्षीया बालिका सेनाले १७ घण्टापछि जीवितै उद्धार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पहिरोमा परी बेपत्ता भएकी जाजरकोट भगवती-३ की डेढ वर्षीया बालिका मनीषा परियारलाई नेपाली सेनाले १७ घण्टापछि जीवितै उद्धार गरेको छ । बुधबार बिहान उद्धारका लागि घटनास्थल पुगेको नेपाली सेनाको तल्लुस्थित सुरक्षा गुल्मले पहिरो पन्छाउने क्रममा मनीषालाई निगालाको कोक्रोभित्र जीवितै फेला पारेको हो । मंगलबार बेलुका घर माथिबाट आएको पहिरोमा परी एकै परिवारका ३ जनाको ज्यान गएको थियो भने ६ घर पुरिएका थिए । मंगलबार दिउँसो ४ बजे पहिरोमा पुरिएकी उनलाई बुधबार बिहान जिवितै उद्धार गरिएको थियो । 'पहिरोको अवस्था हेर्दा कसैलाई जिवित भेट्ने कल्पना नै थिएन अचानक बच्चा रोएको आवाज सुन्दा अचम्म लाग्यो, हेर्दा जिवित बालिका भेटेपछि खुशी लाग्यो !' नेपाली सेनाका सहसेनानी देवीप्रसाद भुसालले भने । बालिकाको दाहिने हात, टाउकोको बायाँ भाग र आँखामा चोट लागेको छ । उद्धारपछि उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अहिले बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । उक्त पहिरोमा परी मनिषाका दुई दाजु ६ वर्षीय रमेश, ४ वर्षीय रेशम र बज्यै ५५ वर्षीय देउमति परियारको मृत्‍यु भएको थियो । पहिरो जाँदा बाख्रा चराउन गएकी मनिषाकी आमा सीता र कमाई गर्न भारत गएका बाबु बेदबहादुर भने सकुशल रहेका छन् ।

No comments: