लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दार्चुला, भदौ १ - चिने श्रीखण्ड, नचिने खुर्पाको बिँड! बहुउपयोगी हिमाली जडीबुटी यार्सागुम्बाको अकासिँदो भाउले यो लोकोक्ति सम्झाउँछ। स्थानीयलाई दशकअघिसम्म यार्सागुम्बा काम लाग्ने वनस्पति हो भन्नेसम्म थाहा थिएन। यही चिज अहिले गाउँमै १२ लाख रुपैयाँ प्रतिकिलोसम्ममा बिक्छ। उद्योग वाणिज्य संघ, दार्चुलाका कोषाध्यक्ष भरत चन्दले अघिल्लो वर्षभन्दा यसपालि झन्डै दोब्बर मूल्यमा यार्सा कारोबार भएको बताए। 'यस वर्ष प्रतिकिलो १२ लाख रुपैयाँसम्ममा कारोबार भयो, 'चन्दले भने, 'पोहोर बढीमा ८ लाखसम्म लिएका थिए।'यार्सा खरिद गर्न चिनियाँ व्यापारीसमेत जिल्ला आएको उनले बताए। 'काठमाडौं, हुम्ला र बझाङबाट व्यवसायी गाउँ आउँथे,' उनले भने, 'यसपालि चिनियाँ पनि आए।'स्थानीय यार्सा व्यवसायीका अनुसार यो वर्ष यार्साले अहिलेसम्मकै बढी मूल्य पाएको हो।
दशकअघि डोल्पालीहरू यार्सा खोज्दै दार्चुला पुगेपछिमात्र स्थानीयले यो हिमाली जडीबुटीलाई चिन्ने मौका पाएका थिए। अहिले यो हिमाली बासिन्दाको आयआर्जनको प्रमुख स्रोत बनेको छ। 'यार्सा ढुवानीकै लागि तीनपटकसम्म काठमाडौंबाट हेलिकोप्टर दार्चुला पुगिसकेको छ,' जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख देवबहादुर बोगटीले भने।
नेपालमा प्रतिकिलो दस हजार रुपैयाँ राजस्व तिरे पुग्ने यार्सा दार्चुलाको सीमावर्ती भारतीय हिमाली क्षेत्रमा भने संकलन गर्नै प्रतिबन्ध छ। त्यसैले भारतीयसमेत नेपालतर्फ यार्सा टिप्न आउने गरेको स्थानीयको गुनासो छ। जिल्लाकै बढी यार्सा संकलन हुने घुसा गाविसका लोकेन्द्रसिंह लोथ्यालका अनुसार स्थानीय लवजमा 'कीरा' भनेर चिनिने यार्साको आकारप्रकार हेरेर बजारमा बिक्री मूल्य निर्धारण गरिन्छ। सीमावर्ती जिल्ला भएकाले यसको कारोबार भारतीय बजारमा भारुमा बढी हुने गरेको स्थानीयले बताए।
स्थानीय दिवानसिंह बुढाथोकीका अनुसार मोटो र लामो आकारका यार्साले सर्वाधिक मूल्य पाउँछ। 'सबैभन्दा राम्रोले ७ लाख ५० हजार, मध्यमस्तरकाले ६ लाख ५० हजार र तेस्रो दर्जाकाले ४ लाख २५ हजार भारु प्रतिकिलो मूल्यमा कारोबार भएको छ,' उनले भने, 'यो अहिलेसम्मकै बढी हो।'
अघिल्लो वर्षसम्म जिल्लामा संकलन गरिएको यार्सागुम्बाबाट जिल्ला वन कार्यालयले ५६ लाख ३३ हजार राजस्व उठाएको थियो। यार्सा उत्पादन हुने क्षेत्र एक वर्षअघि घोषित अपि नाम्पा संरक्षण क्षेत्रभित्र परेपछि यसपालि मध्यसाउनसम्म संरक्षण क्षेत्रले ४ सय ५१ किलो यार्साको ४५ लाख १२ हजार राजस्व संकलन गरेको छ।
निमित्त वार्डेन तथा सहायक संरक्षण अधिकृत मोहम्मद आविद हुसैनका अनुसार आउँदो एक महिनासम्म यार्सा कारोबार र राजस्व संकलन जारी रहन्छ। प्रतिकिलो थोरै राजस्व दर र ठूलो बजार भाउका कारण राजस्व चुहावटको सम्भावना रहने भए पनि वैध कागजात भएको यार्सा बेच्न व्यापारीलाई समेत सजिलो हुने हुँदा थोरैमात्र चुहावट हुने गरेको संरक्षण क्षेत्रको दाबी छ। बर्खाअघि टिप्नुपर्ने यार्साका लागि यसपालि बर्खामा समेत अनुमति लिइएको हुसैनले बताए। स्थानीय स्तरमा यार्सा टिप्न दार्चुलाका स्थानीयलाई मात्र अनुमति दिनुपर्ने माग भए पनि बझाङ, बाजुरा र हुम्लाका गरी ३९ जनाले संकलन पुर्जी लिएको संरक्षण क्षेत्रले जनाएको छ। दार्चुलाका घुसा, राप्ला, सितोला, सुनसेरा, खार र खण्डेश्वरी गाविस यार्सागुम्बा पाइने क्षेत्र हुन्।
No comments:
Post a Comment