News

Aug 21, 2011

सहमतिका लागि नेताहरुको दौडधूप, दाहालले प्रधानमन्त्री र कोइराला भेट

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ४- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र एकीकृत नेकपा (मओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रिय सरकार गठनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफल सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा सकिएपछि के गर्ने भन्ने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सल्लाहकार थापाका अनुसार उनीहरूबीच शान्तिप्रक्रियाका विवादित विषयहरूमा छिटोभन्दा छिटो सहमति खोजेर सहमतिको राष्ट्रिय सरकार निर्माणका लागि विश्वासिलो वातावरण बनाउनुपर्ने विषयमा कुराकानी भएको थियो। भेटमा एमाओवादी अध्यक्ष दाहालले आफ्नो पार्टीका तर्फबाट सहमतीय सरकारको नेतृत्वका लागि अघि सारेका उम्मदेवार पार्टी उपाध्यक्ष डा बाबुराम भट्टराईलाई सहयोग गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री खनालले सहमतीय सरकारको विकल्प नभएको बताउँदै आफ्नो पार्टीले कुनै उम्मेदवार अघि नसारेको अवस्थामा अन्य दलका उम्मेदवारलाई सघाउनेबारे पार्टीले निर्णय लिएपछि मात्रै जवाफ दिन सकिने बताएका थिए।

कोइराला र दाहालबीच भेट
यसैगरी सहमतीय सरकार निर्माणका लागि नेतृत्वका दाबी गरेका प्रमुख दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार निर्माणबारे आज बिहान छलफल भएको छ। कोइराला निवास महाराजगन्जमा भएको छलफलमा दुवै पार्टीका नेताले प्रधानमन्त्री पदका आ-आफ्ना पार्टीका उम्मेदवारलाई सघाउन आग्रह गरेका थिए। नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार काँग्रेसले एमाओवादी हतियार र लडाकूविहीन नभइन्जेलसम्म उसको नेतृत्व स्वीकार्न नसक्ने अडान सभापति कोइरालाले राखेका थिए। एमाओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुङ्ग्याउन सरकारमा आफ्नो पार्टीको नेतृत्व अत्यावश्यक रहेको भन्दै सभापति कोइरालासँग सहयोगका लागि आग्रह गरेका थिए।

No comments: